रहबर अन्सारीद्वारा ‘नेकपा’ परित्यागको घोषणा

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले पार्टी परित्याग गरेका छन् । उनले पार्टी संयोजक प्रचण्डलाई हुलाकमार्फत पत्र पठाउँदै राजीनामा दिएका हुन् ।

उनले नेकपा संयोज पुष्पकमल दाहाल प्रचण्डलाई ‘पूर्व अध्यक्ष’ भन्दै सं वोधन गरेका छन् । राजीनामा पत्रमा ‘सागर के तुफान को भी हमने बस में किया है’ प्रचण्डको सायरी उद्धृत गर्दै अब यो गीत प्रचण्डको स्मृतिमा मात्र बाँकी रहेको उल्लेख गरेका छन् ।
राजिनामा पत्रमा भनेका छन्, ‘म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ । यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु ।’

अन्सारीले राजीनामा दिँदै पार्टीभित्रको आन्तरिक निर्णय प्रक्रिया, नेतृत्वको कार्यशैली र राजनीतिक नैतिकतामाथि प्रश्न उठाएका छन् । विशेषगरी मधेश प्रदेशको सरकार गठन, विश्वासको मत र सांसदहरूबीच देखिएको शक्ति संघर्षप्रति उनले सार्वजनिक रूपमै आपत्ति जनाउँदै आएका थिए।

मधेश प्रदेशसभाको एक बैठकमा अन्सारीले प्रतीकात्मक विरोध प्रदर्शन गर्दै राजनीतिक चरित्र र नैतिकताको प्रश्न उठाएका थिए। उनले सत्ता जोगाउने नाममा सिद्धान्त र जनमतलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाएका थिए।

सो घटनापछि उनी पार्टी नेतृत्वसँग थप टाढिँदै गएको विश्लेषण राजनीतिक विश्लेषकहरूले गरेका छन्।

अन्सारीले पार्टी नेतृत्व जनभावनाभन्दा सत्ता केन्द्रित भएको, निर्णय प्रक्रियामा पारदर्शिता र आन्तरिक लोकतन्त्र कमजोर भएको, सिद्धान्तभन्दा पद र भागबण्डालाई प्राथमिकता दिइएको आरोप लगाएका छन् ।