सार्वजनिक बसका यात्रुबाट लुटेको नगद र सुनसहित चार जना पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं । सार्वजनिक बसका यात्रुहरूलाई लक्षित गरी नगद तथा गरगहना चोरी गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं अन्तर्गत प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

यही पुष २३ गते ११ः०० बजेको समयमा काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित गोल्डेनगेट अगाडिबाट बसमा चढी मित्रपार्क जाने क्रममा एक युवकको साथमा रहेको नगद रु. २ लाख ७५ हजार चोरी भएको थियो । त्यसैगरी पुष २४ गते सिनामंगलबाट बसमा यात्रा गर्ने क्रममा एक महिलाको सुनको सिक्री हराएको भन्ने सूचना प्रहरीमा प्राप्त भएको थियो ।

उक्त सूचनाका आधारमा खोजतलास गर्ने क्रममा पुष २२ गते काठमाडौं महानगरपालिका–८ तिलगंगाबाट घटनामा संलग्न रहेको खुल्न आएका चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दक्षिणकाली नगरपालिका-२ बस्ने ३७ वर्षीय सरोज खड्का, काभ्रेपलान्चोक महाभारत गाउँपालिका–७ घर भई हाल काठमाडौं काँडाघारी बस्ने ४२ वर्षीय बिकाश लामा, तनहुँ म्याग्दे गाउँपालिका–५ घर भई हाल काठमाडौं टोखा बस्ने ३३ वर्षीय राजु गुरुङ र ललितपुर महानगरपालिका-७ बस्ने ३३ वर्षीय सुवास मगर रहेका छन् ।

प्रहरीले उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीका अनुसार प्रतिवादी सरोज खड्काविरुद्ध यसअघि अभद्र व्यवहार, चोरी, डाँका तथा लागू औषध कसुरसमेत गरी ११ वटा मुद्दा दर्ता भएका छन् ।

त्यस्तै विकाश लामाविरुद्ध अभद्र व्यवहार कसुरमा २ वटा, राजु गुरुङविरुद्ध अभद्र व्यवहार कसुरमा ४ वटा र सुवास मगरविरुद्ध अभद्र व्यवहार कसुरमा २ वटा मुद्दा दर्ता भइसकेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिफारिस