काठमाडौँ । अमेरिकामा क्रियाशील गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी युएसए)ले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरेको प्रस्ट पारेको छ । एनआरएनए एनसीसीले एक विज्ञीप्ती जारी गर्दै अमेरिकामा कुनै पनि युवा सम्बन्धी कार्यक्रम आयोजना नगरेको प्रष्ट पारेको हो ।
एनआरएनए एनसीसीले आफ्नो नाम, लोगो, इआइएन नम्बर तथा आधिकारिक हैसियत दुरुपयोग गरी भइरहेका अनधिकृत गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा संस्थाको जानकारी, स्वीकृति तथा आधिकारिक निर्णयबिना केही व्यक्ति वा समूहले विभिन्न कार्यक्रम, भ्रमण तथा तथाकथित युवा कार्यक्रमहरू आयोजना गरिरहेको विषयमा विश्वसनीय सूचना प्राप्त भएको उल्लेख गरिएको छ। यस्तो कार्य कानुनी, आर्थिक तथा प्रतिष्ठासम्बन्धी दृष्टिले गम्भीर अपराध हुने भन्दै संस्थाले त्यसप्रति कडा आपत्ति जनाएको छ।
एनआरएनए एनसीसीले विज्ञप्तीमार्फत संस्थाको नाम र पहिचान दुरुपयोग गरी गरिने कुनै पनि अनाधिकृत गतिविधिमा संलग्न व्यक्तिहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ।
साथै, यस्ता गैरकानुनी गतिविधिहरू सम्बन्धी सम्पूर्ण विवरण संयुक्त राज्य अमेरिकाको होमल्याण्ड सेक्युरिटी तथा नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक रूपमा जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ।
संस्थाले सबै सरोकारवाला निकाय, सञ्चार माध्यम तथा समुदायका सदस्यहरूलाई यस्ता अनाधिकृत गतिविधिप्रति सचेत रहन अनुरोध समेत गरेको छ।
एनआरएनए एनसीसी संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा दर्ता भएको एकमात्र आधिकारिक गैरआवासीय नेपाली संघ हो।
