३ दलद्वारा फागुन २१ को प्रतिनिधिसभा निर्वाचन बहिष्कार घोषणा

दियोपोस्ट संवाददाता  

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन तीन राजनीतिक दलले बहिष्कार गर्ने घोषणा गरेका छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (नेकपा बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र समाजवादी कम्युनिस्ट पार्टी नेपालले संयुक्त रूपमा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन् ।

शुक्रबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै ती दलले वर्तमान निर्वाचन प्रणाली जनताको हितविपरीत रहेको दाबी गर्दै निर्वाचनमा सहभागी नहुने बताएका छन् । उनीहरूले स्वाधीन संयुक्त जनसरकार र जनसंविधानको मागसहित देशव्यापी आन्दोलन अघि बढाउने घोषणा समेत गरेका छन् ।

ती दलहरूले सीपी गजुरेलको संयोजकत्वमा केन्द्रीय संयुक्त संघर्ष समिति गठन गरेका छन् । उक्त समितिमा रामसिंह श्रेष्ठ, शारदा महत, धर्मेन्द्र बास्तोला, दीपक चलाउने, रूपा बुढा, आहुती, राजेश्वरी सुवेदी, रूपा सुनार, महिन्द्र मल्ल, दिनेश बर्तौला, इन्दिरा अधिकारी, ऋषि कट्टेल, खेमनारायण ढुङ्गाना, शशी घिमिरे, समरजंग र समिर सिंह सदस्य रहेका छन् ।

संघर्ष समितिले देशका ७७ वटै जिल्लामा जिल्ला संयुक्त संघर्ष समिति गठन गरी आन्दोलनलाई विस्तार गर्ने जनाएको छ ।

निर्वाचन बहिष्कारसम्बन्धी पहिलो चरणको संघर्ष कार्यक्रम सार्वजनिक गर्दै समितिले पौष २५ गते घोषणा सभा आयोजना गर्ने, पौष २६ र २७ गते प्रचार–प्रसार तथा पर्चा वितरण गर्ने जनाएको छ ।

त्यस्तै, पौष २८ गते देशव्यापी मशाल जुलुस, पौष २९ गते उपत्यका बन्द तथा माघ २ गते इटहरी, जनकपुर, सिमरा, चितवन, पोखरा, बुटवल, दाङ, नेपालगन्ज र धनगढीमा निर्वाचनको औचित्यहीनताबारे अन्तर्क्रिया गोष्ठी आयोजना गरिने बताइएको छ ।

समितिले माघ ५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने कार्यक्रम पनि रहेको जनाएको छ ।

पहिलो चरणको कार्यक्रमपछि आन्दोलनका थप कार्यक्रम घोषणा गरिने संयोजक सीपी गजुरेलले जानकारी दिए ।

 

 

सिफारिस