काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि एनआईएमबी युनियन–पे कार्ड सेवा सञ्चालनमा ल्याएको छ। आधुनिक तथा सुरक्षित भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यका साथ बैंकले उक्त कार्डको औपचारिक शुभारम्भ गरेको हो।
युनियन–पे कार्डको सुरुवातसँगै बैंकले सुरक्षित, भरपर्दो र विश्वव्यापी रूपमा स्वीकार्य कार्ड सेवा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ। नवप्रवर्तनयुक्त सुविधासहितको एनआईएमबी युनियन–पे कार्डमार्फत ग्राहकहरूले देशभित्र तथा विदेशमा सहज रूपमा वित्तीय कारोबार गर्न सक्नेछन्।
विश्वभरका लाखौँ व्यापारी केन्द्र र एटीएममा स्वीकार्य यस कार्डले भुक्तानी, अनलाइन कारोबार तथा अन्तर्राष्ट्रिय यात्रालाई अझ सरल र सुरक्षित बनाउने विश्वास बैंकले लिएको छ।
कार्डको औपचारिक शुभारम्भको अवसरमा बैंकले विशेष प्रारम्भिक अभियानअन्तर्गत अन्तर्राष्ट्रिय तथा स्वदेशी दुवै प्रकारका एनआईएमबी युनियन–पे कार्डमा पाँच वर्षसम्म शतप्रतिशत कार्ड शुल्क छुट दिने व्यवस्था गरेको छ। सीमित अवधिका लागि उपलब्ध यस आकर्षक अफरमार्फत ग्राहकहरूले कुनै पनि कार्ड शुल्क नतिरी दीर्घकालीन कार्ड सुविधाको लाभ लिन सक्नेछन्। बैंकले इच्छुक ग्राहकहरूलाई समयमै आवेदन गरी यस अवसरको फाइदा उठाउन आग्रह गरेको छ।
एनआईएमबी युनियन–पे कार्डको शुभारम्भसँगै बैंकले डिजिटल बैंकिङ प्रणालीलाई थप सुदृढ गर्दै ग्राहकहरूलाई कार्ड–आधारित कारोबारमा बढी विकल्प र सहजता प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। आगामी दिनहरूमा पनि नवीन तथा ग्राहक–मैत्री वित्तीय सेवाहरू प्रदान गर्न प्रतिबद्ध रहने बैंकले जानकारी दिएको छ।
हाल नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्सन काउन्टर तथा ६० शाखारहित बैंकिङ सेवामार्फत अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।