काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको पार्टीको विशेष महाधिवेशन नजिकिँदै गर्दा पार्टी भित्र आन्तरिक द्वन्द बढेको छ । यही पुस २७ र २८ गते काठमाडौँमा महाधिवेशन गर्ने तयारीसंगै पार्टीभित्रको शक्ति संघर्ष सतहमा आएको हो ।
महाधिवेशन पक्षधरहरु जिल्ला–जिल्लाबाट काठमाडौँ आइरहेका छन् भने अर्को पक्ष अर्थात् संस्थापन समूह महाधिवेशनको विपक्षमा उभिएको छ। यही मतभेदले कांग्रेस विभाजनको संघारमा पुगेको प्रष्ट देखिन्छ ।
महाधिवेशन पक्षधर समूहले पार्टी विधान, समयसीमा र संगठनात्मक वैधतालाई आधार बनाएर अधिवेशन अपरिहार्य भएको दाबी गरिरहेको छ। उनीहरूले नेतृत्व चयन र पार्टीलाई नयाँ दिशामा लैजान महाधिवेशन नै एकमात्र लोकतान्त्रिक बाटो भएको बताउँदै आएका छन् । यही कारण कार्यकर्ताहरू राजधानी केन्द्रित हुन थालेका छन्, जसले शक्ति प्रदर्शनको संकेत पनि दिएको छ।
तर संस्थापन पक्षले भने महाधिवेशनका लागि आवश्यक राजनीतिक वातावरण र संगठनात्मक तयारी नपुगेको तर्क अघि सारेको छ। शुक्रबार बानेश्वरमा गरिएको छुट्टै भेलाले उनीहरूको असन्तुष्टि केवल विचारमा सीमित नभई संगठित प्रतिरोधको रूप लिइसकेको देखाउँछ। संस्थापन पक्ष महाधिवेशन जबर्जस्ती गरिए पार्टीमा गम्भीर दुर्घटना हुन सक्ने चेतावनीसमेत दिइरहेको छ।
कांग्रेसमा अहिले देखिएको अवस्था केवल महाधिवेशन विवाद मात्र होइन, लामो समयदेखि थाँती रहँदै आएको शक्ति, नेतृत्व र दिशाको संघर्षको परिणाम हो। विगतमा पनि कांग्रेस यस्ता मोडमा पुगेको इतिहास छ, जहाँ अन्तिम समयमा सम्झौता भएको उदाहरण भेटिन्छ। त्यसैले अहिलेको तनावलाई फुटको निश्चित आधार मानिहाल्न हतारो हुने राजनतिक बिश्लेषकको बुझाइ छ।
तर, यसपटक भने दुवै पक्ष आ–आफ्नो अडानमा दृढ देखिएका छन्। सहमतिको प्रयास असफल भयो भने कांग्रेस औपचारिक रूपमा नभए पनि व्यवहारिक रूपमा विभाजित हुन सक्ने खतरा उत्तिकै छ ।
यद्यपी, नेपाली कांग्रेस फुटिसकेको भने छैन । तर फुटको सम्भावना सिर्जना गर्ने आधारहरू भने बलिया बन्दै गएका छन्। महाधिवेशन विवादले समग्र नेपाली राजनीतिमा समेत ठूलो प्रभाव पार्ने देखिएको छ।