काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला आजदेखि पार्टीको विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ। पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजना हुन लागेको यो महाधिवेशनले कांग्रेसको आन्तरिक शक्ति सन्तुलन र भावी राजनीतिक दिशालाई निर्णायक रूपमा प्रभावित गर्ने अपेक्षा गरिएको छ।
महाधिवेशन आज उद्घाटन भई भोलि पुस २८ गतेसम्म चल्ने आयोजक पक्षको भनाइ छ। आयोजक समितिका अनुसार विधानअनुसार आवश्यक पर्ने ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको समर्थन जुटेपछि विशेष महाधिवेशन बोलाइएको दाबी गरिएको छ।
विशेष महाधिवेशनमा पार्टीका वर्तमान नेतृत्वप्रति असन्तुष्ट समूहका केन्द्रीय नेता, प्रदेशस्तरीय नेता तथा जिल्ला महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहनेछ। महामन्त्रीद्वय थापा र शर्मासहित युवा पुस्ताका नेता, केही पूर्वमन्त्री तथा संघीय सांसदहरू महाधिवेशनमा सक्रिय रूपमा सहभागी हुने बताइएको छ।
आयोजक पक्षले देशभरका जिल्लाबाट प्रतिनिधिहरू काठमाडौँ आइपुगेको र सहभागी हुने क्रम जारी रहेको जनाएको छ। केही जिल्लामा ५० प्रतिशतभन्दा बढी प्रतिनिधि उपस्थित हुने दाबी गरिए पनि सबै जिल्लाबाट समान सहभागिता भने देखिएको छैन।
पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष भने विशेष महाधिवेशनबाट टाढा रहने निर्णयमा अडिग देखिएको छ। संस्थापन पक्षले यो महाधिवेशन पार्टी विधान र प्रक्रियाविपरीत भएको भन्दै अस्वीकार गर्दै आएको छ। सभापति देउवासहित अधिकांश वरिष्ठ नेता, पदाधिकारी र संस्थापन पक्षका केन्द्रीय सदस्यहरू महाधिवेशनमा सहभागी नहुने स्पष्ट भइसकेको छ।
संस्थापन पक्षका केही नेताहरूले संवाद र सहमतिको प्रयास गर्नुपर्ने धारणा राखे पनि औपचारिक रूपमा महाधिवेशनमा सहभागी हुने संकेत देखिएको छैन।
यता जिल्ला तहमा भने विशेष महाधिवेशनप्रति समर्थन र विरोध दुवै देखिएको छ। केही जिल्लाबाट ठूलो संख्यामा प्रतिनिधि काठमाडौँ पुगेका छन् भने केही जिल्लाका सभापतिहरूले प्रतिनिधिलाई महाधिवेशनमा सहभागी नहुन निर्देशन दिएका छन्। विशेषगरी मधेस प्रदेशका केही जिल्ला सभापतिहरूले महाधिवेशन बहिष्कारको घोषणा गरेका छन्।
यसले महाधिवेशनमा प्रतिनिधित्व क्षेत्रगत रूपमा असन्तुलित हुन सक्ने संकेत देखिएको छ।
विशेष महाधिवेशनलाई लिएर कांग्रेस पार्टी फुटको संघारमा पुगेको बहस सुरु भएको छ। एक पक्षले विधानअनुसारको अधिकार प्रयोग गरिएको दाबी गरिरहेका छन् भने अर्को पक्षले यसलाई पार्टी एकतामाथिको आघातका रूपमा चित्रण गरेको छ।
विशेष महाधिवेशनले तत्काल पार्टी विभाजन नल्याए पनि कांग्रेसभित्रको दरार गहिरिँदै गएको स्पष्ट संकेत दिएको छ। यदि महाधिवेशनपछि सहमति र समन्वयको बाटो नखोजिए आगामी दिनमा पार्टी एकता थप संकटमा पर्न सक्ने प्रति कांग्रेस नेताहरु चिन्तित छन् ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुँदै गर्दा पार्टीभित्रको शक्ति संघर्ष सतहमा आएको छ। संस्थापन र असन्तुष्ट पक्षबीचको टकरावले कांग्रेसको भविष्य, संगठनात्मक एकता र आगामी निर्वाचनको रणनीतिमा गम्भीर प्रश्न उठाएको छ।
महाधिवेशनले पार्टीलाई एकताबद्ध गर्ने कि थप विभाजनतर्फ लैजाने भन्ने कुरा अब आउने निर्णय र नेतृत्वको व्यवहारमा निर्भर रहने देखिन्छ।