विशेष महाधिवेशन अघि विभिन्न स्थानबाट जुलुस निकाल्ने कांग्रेसको तयारी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनु अगावै महाधिवेशन पक्षधर समूहले काठमाडौँका विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी गरेको छ । जुलुससहित भृकुटीमण्डप पुगेर महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजक पक्षले जनाएको छ ।

पार्टी स्रोतका अनुसार काठमाडौँ उपत्यकाभित्र कुपन्डोल, सुन्धारा, रत्नपार्क, बागबजार लगायतका स्थानबाट जुलुस निकालिने तयारी भइरहेको छ । ती सबै जुलुस भृकुटीमण्डपमा पुगेर एकीकृत हुने कार्यक्रम छ । जुलुसमा पार्टीका भ्रातृ तथा शुभेच्छुक सङ्गठन, क्षेत्रीय प्रतिनिधि तथा कार्यकर्ताहरू सहभागी हुने बताइएको छ ।

जुलुस तथा महाधिवेशन व्यवस्थापनको मुख्य जिम्मेवारी पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सम्हालेका छन् । उनीहरूकै नेतृत्वमा जुलुस व्यवस्थापन, प्रतिनिधि समन्वय र कार्यक्रम सञ्चालनको तयारी गरिएको जनाइएको छ ।

विशेष महाधिवेशनको उद्घाटन समारोह आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुने तय भएको छ । उद्घाटनपछि महाधिवेशनका एजेण्डामाथि छलफल गर्न बन्दसत्र आयोजना गरिने छ ।

आयोजक पक्षले पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कालाई समेत उद्घाटन समारोहमा सहभागी हुन निमन्त्रणा गरेको जनाएको छ । यद्यपि, संस्थापन पक्षधर नेताहरूले विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउँदै आएका छन् ।

संस्थापन पक्षधर नेताहरूले यस विशेष महाधिवेशनलाई पार्टी विधान र राजनीतिक आवश्यकतासँग मेल नखाएको बताउँदै आएका छन् । केही संस्थापन पक्षधर नेताहरूले अलग्गै छलफल र गतिविधि गर्ने तयारी गरेको चर्चा पनि छ ।

पार्टीभित्र नेतृत्व, कार्यदिशा र विधान संशोधनका विषयमा बढ्दै गएको विवादकै बीच आयोजना हुन लागेको यो विशेष महाधिवेशनले नेपाली कांग्रेसको आन्तरिक राजनीति कुन दिशामा जाने हो भन्ने चासो बढाएको छ ।