डडेल्धुरा । डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–९ कुयापानीस्थित शनिबार साँझ जोगबुढा–दैजी सडकखण्डमा दुर्घटना भएको हो।
जोगबुढाबाट गाइबाधेतर्फ जाँदै गरेको से२त १४७४ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म१प ९९७३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक परशुराम नगरपालिका-१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार सोही स्थानका ३५ वर्षीय मान जाग्री गम्भीर घाइते भएका थिए। उपचारका लागि जोगबुढा अस्पताल लगिएको भए पनि चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए।
दुर्घटनापछि ट्र्याक्टर चालक परशुराम नगरपालिका निवासी ३२ वर्षीय सुरेश भट्ट फरार रहेका छन्। उनको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ।