चितवन रत्ननगरमा ६८ वर्षीया महिलाको विभत्स हत्या

दियोपोस्ट संवाददाता  

काठमाडौँ । चितवन रत्ननगर नगरपालिका-४ मा ६८ वर्षीया सुकमाया देवी तामाङको शुक्रबार राति विभत्स हत्या भएको छ। एक्लै बस्दै आएकी तामाङको शव शनिबार दिउँसो आफ्नै घरभित्र ओछ्यानमा बाँधिएको अवस्थामा फेला परेको हो ।

मृतकको हातखुट्टा बाँधिएको अवस्थामा शव भेटिएको र हत्या अत्यन्तै क्रूर ढंगले गरिएको देखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डिएसपी सुवास भट्टका अनुसार मृतक तामाङको घरबाट सुनका गहना हराएको छ। कानमा लगाएको मुन्द्रा र औँठी नदेखिएकाले लुटपाटको उद्देश्यले हत्या गरिएको हुनसक्ने डिएसपी भट्टको भनाई छ ।

प्रहरीका अनुसार तामाङ लामो समयदेखि घरमा एक्लै बस्दै आएकी थिइन्। उनका छोरा तथा नाति सुधार गृहमा रहेको र बुहारी विदेशमा रहेकाले उनी एक्लै बस्दै आएको जानकारी प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाई शवलाई पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ। पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण थप स्पष्ट हुने प्रहरीको भनाइ छ।

प्रहरीले आसपासका सीसीटीभी फुटेज संकलन गर्नुका साथै स्थानीयसँग सोधपुछ गरिरहेको छ। हालसम्म घटनामा संलग्न व्यक्ति पहिचान हुन नसकेको र आरोपीको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

वृद्ध महिलाको एक्लोपन र सुरक्षा चुनौतीका बीच भएको यस घटनाले स्थानीयस्तरमा त्रास फैलिएको छ। प्रहरीले अनुसन्धान पूरा भएपछि थप विवरण सार्वजनिक गर्ने जनाएको छ।