काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग भएका कुलमान घिसिङले फेसबुक स्टाटसमार्फत पार्टी नेतृत्वप्रति विश्वास टुटेको बताएका छन्। विश्वासका आधारमा पार्टी र नेतृत्व बुझाएको भए पनि गरिएको सहमति पालना नगरिएको उनको आरोप छ।
घिसिङका अनुसार समानुपातिक उम्मेदवारमा १८ जनाको नाम दिने सहमति भए पनि अन्ततः १४ जनामात्र समेटिएको उनले बताएका छन् । केन्द्रीय सदस्य संख्यामा पनि बालेन समूह र उज्यालो नेपाल पार्टीलाई समान २१-२१ सिट दिने भनिए पनि बालेन समूहलाई २६ र उज्यालो नेपाल पार्टीलाई १२ जनामा सीमित गरिएको उनले उल्लेख गरेका छन्।
भद्र सहमतिहरू पटक-पटक उल्लंघन गरिएको र अन्ततः एकतर्फी रूपमा एकता भंगको घोषणा गरिएको घिसिङको भनाइ छ। समानुपातिक सूची बुझाउने समय सकिएकाले आफूहरूलाई दबाबमा पार्न खोजिएको भए पनि आत्मसम्मान नबेचेको उनले स्पष्ट पारेका छन्।
उनले पार्टी नेतृत्वमाथिको विश्वास गुमे पनि देश समृद्ध बनाउने लक्ष्यप्रतिको प्रतिबद्धता अझ बलियो भएको बताएका छन्।
उनले भनोका छन्,-
‘विश्वास गरेर पार्टी बुझायौँ,
विश्वास गरेर नेतृत्व बुझायौँ।
समानुपातिक उम्मेदवारमा १८ जना दिन्छु भन्दै १४ मात्रै राख्ने। केन्द्रीय सदस्य पनि बालेन समूह र उ ने पा लाई २१(२१ दिने भन्ने तर बालेन समूहलाई २६ दिने र उ ने पा लाई चाहिँ १२ जना मा चित्त बुझाउन पर्यो भन्ने। गर्छु भनेको भद्र सहमतिहरु केहि पालना नगर्ने र अनि एकतर्फी एकता भंग भएको घोषणा गर्ने।
लाग्यो होला, पौष १४ को समानुपातिक सूची बुझाउने समय नाघी सक्यो, अब यिनीहरुको अन्य केही विकल्प छैन( जति पेले पनि भो। हामीले समानुपातिक गुमायौँ, तर आत्मसम्मान गुमाएका छैनौँ। १२ दिनको हाम्रो मौनतालाई कमजोर नठानोस् ।
हामीले तपाईहरु माथिको विश्वास गुमायौँ, तर देश समृद्ध बनाउने लक्ष्यप्रतिको प्रतिबद्धता अझ बलियो बनाएका छौँ।’