एकता भंगपछि पनि रीमा विश्वकर्मा रास्वपामै रहने, नाम फिर्ता नलिने अडान

दियोपोस्ट संवाददाता  

काठमाडौँ । उज्यालो नेपाल पार्टीको तर्फबाट सिफारिस गरिएकी अभिनेत्री तथा सामाजिक अभियन्ता रीमा विश्वकर्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै समानुपातिक उम्मेदवार सूचीमा रहने भएकी छन्। रास्वपा र उज्यालो नेपाल पार्टीबीच भएको एकता सहमति भंग भइसकेको अवस्थामा पनि उनले आफ्नो नाम फिर्ता नलिने अडान लिएकी हुन् ।

रास्वपाले हालै निर्वाचन आयोगमा बुझाएको अद्यावधिक समानुपातिक सूचीअनुसार, एकता प्रक्रियासँग जोडिएका केही उम्मेदवारको नाम हटाइए पनि रीमा विश्वकर्माको नाम भने यथावत् राखिएको छ। दलित क्लस्टर अन्तर्गत उनको नाम सूचीमा राखिएको बताइएको छ।

रास्वपा–उज्यालो नेपाल पार्टीबीच ७ बुँदे सहमतिअनुसार चुनावी सहकार्य र पार्टी एकताको प्रक्रिया अघि बढाइएको थियो। तर नेतृत्व तहमा उत्पन्न मतभेदका कारण सहमति भंग भएपछि दुवै पार्टी आ–आफ्नो राजनीतिक बाटोमा फर्किएका छन्। यही क्रममा उज्यालो नेपाल पार्टीसँग सम्बन्धित केही नेताहरूले रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिएका थिए।

तर रिमा विश्वकर्माले भने रास्वपामै आफ्नो राजनीतिक यात्रा निरन्तर राख्ने संकेत दिएकी स्रोतले बतायो । उनी हाल उज्यालो नेपाल पार्टीको सक्रिय जिम्मेवारीमा नरहे पनि कानुनी रूपमा रास्वपाको समानुपातिक सूचीमा रहने निर्णयमा अडिग रहेको बताइएको छ ।

रास्वपाभित्र कलाकार तथा सामाजिक पहिचान भएका व्यक्तित्वलाई समेट्ने नीति अनुरूप रिमाको निरन्तरता पार्टीका लागि पनि अर्थपूर्ण मानिएको छ।

रीमा विश्वकर्मा यसअघि टेलिभिजन र चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएकी थिइन्। पछिल्लो समय उनी राजनीतिक सक्रियतामा देखिँदै आएकी छन्।

एकता भंगपछि पनि रास्वपाको समानुपातिक सूचीमा उनको नाम कायमै रहनु आन्तरिक राजनीतिक सन्तुलन र आगामी निर्वाचन रणनीतिसँग जोडिएको विषयका रूपमा हेरिएको छ।

सिफारिस