काठमाडौैैँ । डेढ वर्षअघि चितवनको सिमलतालबाट पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको भाग जस्तै देखिने बसको भग्नावशेष फेला परेको छ। भग्नावशेष सिमलतालबाट करिब ३०० मिटर तल तनहुँतर्फ त्रिशूली नदीको किनारमा बालुवामा पुरिएको अवस्थामा भेटिएको हो।
स्थानीय माछा मार्नेहरूले जाल तान्ने क्रममा नदी किनारमा फलाम जस्तो सामाग्री देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय र उद्धार टोलीको उपस्थितिमा उत्खनन गर्दा बसको भाग जस्तो देखिने संरचना फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अवलोकनमा भेटिएको भग्नावशेष गत वर्ष सिमलताल दुर्घटनामा बेपत्ता भएका बसहरूमध्ये एकको हुन सक्ने आशंका गरिएको छ। भग्नावशेषको रङ, संरचना र बनावट दुर्घटनामा परेको बससँग मिल्दोजुल्दो देखिए पनि पूर्ण पुष्टि हुन बाँकी रहेको प्रहरीले स्पष्ट पारेको छ।
गत वर्ष नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल क्षेत्रमा अविरल वर्षापछि गएको पहिरोले दुई यात्रुबाहक बसलाई त्रिशूली नदीमा बगाएको थियो। ती बसहरूमा सवार यात्रुहरूमध्ये केहीको शव फेला परे पनि अधिकांश यात्रुहरू लामो समयसम्म बेपत्ता रहेका थिए। दुर्घटनापछि नेपाल र भारतका उद्धार टोलीले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरे पनि दुवै बस नदीभित्रै फेला पार्न सकिएको थिएन।
हाल भेटिएको भग्नावशेषको विस्तृत पहिचान, प्राविधिक परीक्षण तथा अभिलेखसँग तुलना गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धान पूरा भएपछि मात्रै यो भग्नावशेष सिमलताल दुर्घटनामा परेको बसकै हो वा होइन भन्ने विषयमा आधिकारिक पुष्टि गरिने बताइएको छ।
यस घटनाले सिमलताल दुर्घटनामा बेपत्ता भएका यात्रुका परिवारमा पुनः आशा र पीडाको मिश्रित भावना जगाएको छ भने पहिरो जोखिमयुक्त सडक खण्डमा सुरक्षाका विषयमा पुनः प्रश्न उठाएको छ।
