काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गतका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन पाउने भएका छन्।
निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार राजनीतिक दलहरूले पुस १३ र १४ गते पेश गरेका प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी बन्दसूचीमा समावेश उम्मेदवारहरूले आयोगबाट स्वीकृत कार्यक्रमअनुसार आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्।
निर्वाचन आयोगले यस विषयमा सम्बन्धित सबै उम्मेदवारलाई जानकारी गराइसकेको निर्वाचन अधिकृत कृष्णबहादुर राउतले जानकारी दिए। आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने व्यवस्था गरिएको छ।
बन्दसूचीमा समावेश उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेको खण्डमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ अनुसारको ढाँचामा निवेदन दिनुपर्नेछ। कुनै कारणले उम्मेदवार स्वयं उपस्थित हुन नसकेमा वारेसमार्फत पनि उम्मेदवारी फिर्ता लिन सकिने आयोगले जनाएको छ।
२७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ।