काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-५, कसेरीघाटस्थित निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्र परिसरमा धारिलो हतियार प्रयोग गरी तीन जनाको विभत्स रूपमा हत्या गरिएको छ । शनिबार बिहान घटनास्थलमा दुई पुरुष र एक महिलाको शव फेला परेको हो ।
प्रहरीका अनुसार दुई पुरुषको शव फोहोरमैला प्रशोधन केन्द्र परिसरमा फेला परेको थियो भने महिलाको शव करिब ७ सय मिटर टाढा खेला छेउमा भेटिएको थियो ।
मृतकहरूको शरीरमा धारिलो हतियारबाट गम्भीर चोट लागेको देखिएको छ। पुरुषहरूको पेट तथा शरीरका विभिन्न भागमा चोट देखिएको र महिलाको घाँटी रेटिएको अवस्थामा शव भेटिएको जनाइएको छ।
प्रहरीका अनुसार तीनमध्ये एक जनाको पहिचान खुलेको छ । शुक्लागण्डकी नगरपालिका–११, पाल्पालीछाप निवासी करिब ४० वर्षीय नारायण विकको पहिचान खुलेको हो। उनी निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्रमा काम गर्दै आएको बताइएको छ। बाँकी दुई मृतक (एक पुरुष र एक महिला)को पहिचान हालसम्म खुल्न सकेको छैन।
स्थानीयवासीका अनुसार मृतकहरू फोहोरमैला प्रशोधन केन्द्र आसपास टहरामा बस्दै आएका थिए र केहीले कवाडी सङ्कलन गरी जीविकोपार्जन गर्ने गरेको बताइएको छ। घटनास्थलको अवस्था अत्यन्तै भयावह रहेकाले स्थानीयवासी त्रसित बनेका छन्।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बेलचौतारा, जिल्ला प्रहरी कार्यालय तनहुँ तथा प्राविधिक टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले तालिम प्राप्त कुकुरको सहयोगमा घटनास्थलको सूक्ष्म अनुसन्धान गर्दै साक्ष्य संकलन गरिरहेको जनाएको छ।
प्रहरीले प्रारम्भिक रूपमा घटनालाई नियोजित हत्या हुन सक्ने आशंकाका साथ अनुसन्धान अघि बढाएको छ। हत्या किन र कसले गर्यो भन्ने विषयमा यकिन हुन बाँकी रहेको भन्दै प्रहरीले शंकास्पद व्यक्तिहरूको खोजी तथा मृतकहरूको पहिचान खुलाउने काम तीव्र पारिएको जनाएको छ।
यस घटनाले शुक्लागण्डकी क्षेत्रमा सुरक्षा चिन्ता बढाएको छ। स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणले घटनाको निष्पक्ष र गहिरो अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।
प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि घटनाबारे विस्तृत विवरण सार्वजनिक गरिनेछ।
