निर्वाचन बहिष्कारको माग गर्दै ३ दलद्वारा मसाल जुलुस, मंगलबार उपत्यका बन्द आव्हान

दियोपोस्ट संवाददाता  

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कार गर्न भन्दै वैज्ञानिक समाजवादी लगायत ३ दलले मंंगलबार उपत्यका बन्द आह्वान गरेका छन् । उपत्यका बन्दको पूर्वसन्ध्यामा उपत्यकाका विभिन्न स्थानमा मसाल जुलुस निकालेका छन् ।

तीन राजनीतिक दल वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (नेकपा बहुमत), र समाजवादी कम्युनिस्ट पार्टी नेपालले संयुक्त रूपमा निर्वाचन बहिष्कार गर्ने भन्दै मसाल जुलुस निकालेका हुन् ।

उपत्यका बन्दको पूर्वसन्ध्यामा निकालिएको उक्त मसाल जुलुसमार्फत तीन दलले वर्तमान निर्वाचन जनताको हितविपरीत रहेको दाबी गर्दै निर्वाचन प्रक्रियामा सहभागी नहुने स्पष्ट पारेका छन्। उनीहरूले स्वाधीन संयुक्त जनसरकार र जनसंविधानको मागसहित देशव्यापी आन्दोलन अघि बढाउने घोषणा पनि गरेका छन्।

संयुक्त संघर्ष समितिका अनुसार देशका ७७ वटै जिल्लामा जिल्ला संयुक्त संघर्षका कार्यक्रम सञ्चालन भइरहेका छन्। निर्वाचन बहिष्कारसम्बन्धी पहिलो चरणको संघर्षका कार्यक्रमअन्तर्गत पौष २५ गते संघर्षका कार्यक्रम घोषणा सभा गरिएको र पौष २६ र २७ गते प्रचार-प्रसार तथा पर्चा वितरण गरिएको समितिले जनाएको छ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार पौष २८ गते देशव्यापी मसाल जुलुस निकालिएको हो । पौष २९ गते (मंगलबार) काठमाडौं उपत्यका बन्द कार्यक्रम आयोजना गरिएको संघर्ष समितिले जनाएको छ ।

त्यसैगरी संघर्षका कार्यक्रमअन्तर्गत माघ २ गते इटहरी, जनकपुर, सिमरा, चितवन, पोखरा, बुटवल, दाङ, नेपालगन्ज र धनगढीमा निर्वाचनको औचित्यहीनताबारे अन्तरक्रिया गोष्ठी आयोजना गरिने जनाइएको छ।

संघर्ष समितिले माघ ५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने कार्यक्रम पनि तय गरिएको जानकारी दिएको छ।

सिफारिस