काठमाडौं। नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको मागलाई लिएर उत्पन्न विवाद समाधानका लागि पार्टी सभापति शेरबहादुर देउवा निवास बालुवाटारमा संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच वार्ता जारी छ। पार्टी विभाजनको अवस्था आउन नदिन शीर्ष नेताहरूबीच निरन्तर संवाद भइरहेको हो ।
वार्तामा विशेष महाधिवेशनको वैधता, पार्टी विधानअनुसार अघि बढ्ने प्रक्रिया, नेतृत्व चयन तथा केन्द्रीय कार्यसमितिको भूमिकालगायत विषयमा छलफल भइरहेको छ। संस्थापन पक्षले विशेष महाधिवेशन विधानविपरीत भएको दाबी गर्दै नियमित प्रक्रियाबाटै समस्या समाधान गर्नुपर्ने अडान राखेको छ।
विशेष महाधिवेशन पक्षले भने पार्टीभित्र देखिएको असन्तुष्टि सम्बोधन गर्न र संगठन सुदृढीकरणका लागि विशेष महाधिवेशन आवश्यक भएको तर्क अघि सारेको छ।
बालुवाटारमा भइरहेको छलफलमा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा, उपसभापति तथा वरिष्ठ नेताहरू सहभागी छन्। विशेष महाधिवेशन पक्षबाट महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहितका नेताहरू वार्तामा छन्। दुवै पक्षबीच सहमतिको वातावरण बनाउन डा. शेखर कोइरालासहितका नेताहरूले मध्यस्थ भूमिकामा संवाद गरिरहेका छन्।
एकातर्फ विशेष महाधिवेशन पक्षले भृकुटीमण्डपमा सुरु गरेको बन्दसत्र जारी छ भने अर्कोतर्फ नेतृत्व तहमा वार्ता चलिरहेकाले पार्टीभित्रको शक्ति संघर्ष निर्णायक चरणमा पुगेको देखिएको छ। बन्दसत्रमा संगठनात्मक प्रतिवेदनमाथि छलफल भइरहेको र आगामी कार्यदिशाबारे प्रस्तावहरू प्रस्तुत भइरहेको बताइएको छ ।
वार्तामा तत्काल कुनै ठोस सहमति भइनसकेको भए पनि संवाद सकारात्मक दिशातर्फ उन्मुख भएको सहभागी नेताहरूको भनाई छ । तर विशेष महाधिवेशनलाई लिएर संस्थापन र असन्तुष्ट समूहबीचको मतभेद यथावत् रहेकाले अन्तिम निष्कर्ष आउन अझै समय लाग्ने संकेत देखिएको छ।