काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए)का अध्यक्ष सिताराम केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ। पार्टी स्रोतका अनुसार विशेष महाधिवेशनका क्रममा आवश्यक निर्वाचन प्रक्रिया व्यवस्थापन गर्न समिति गठन गरिएको हो।
महाधिवेश पक्षधर नेताहरुका अनुसार निर्वाचन समितिमा कानुन, संगठन र व्यवस्थापनको अनुभव भएका सदस्यहरू समेटिएका छन्। समितिले उम्मेदवारी दर्तादेखि मतदान, मतगणना तथा नतिजा सार्वजनिक गर्ने सम्पूर्ण प्रक्रिया निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गराउने जिम्मेवारी पाएको जनाइएको छ।
समितिका संयोजक केसीले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने उद्देश्यका साथ महाधिवेशनको निर्वाचन प्रक्रिया समयमै र विश्वसनीय रूपमा सम्पन्न गरिने बताएका छन्। उनले सबै पक्षसँग समन्वय गरी आचारसंहिता पालना गराउँदै निर्वाचन अघि बढाइने उल्लेख गरेका छन्।
विशेष महाधिवेशनलाई पार्टीको भावी दिशा र संगठन सुदृढीकरणका दृष्टिले महत्वपूर्ण मानिएको छ। यस क्रममा नेतृत्व चयन तथा विभिन्न प्रस्तावमाथि छलफल हुने बताइएको छ।