समानुपातिक उम्मेदवारले नाम फिर्ता लिएका स्थानमा नयाँ नाम पठाउन निर्वाचन आयोगको आब्हान

दियोपोस्ट संवाददाता  

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारी दिएका व्यक्तिले नाम फिर्ता लिएको अवस्थामा सो स्थानमा नयाँ उम्मेदवारको नाम पठाउन सम्बन्धित राजनीतिक दललाई आब्हान गरेको छ। आयोगले खाली भएको ठाउँमा आजदेखि आगामी माघ २ गतेसम्म अर्को नाम पठाउन आब्हान गरेको हो ।

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार विभिन्न राजनीतिक दलको समानुपातिक सूचीमा रहेका ८५ जना समानुपातिक उम्मेदवारहरूले नाम फिर्ता लिएका छन्।

दलले एकतर्फी रूपमा उम्मेदवारको नाम हटाउन नपाउने र उम्मेदवार स्वयंले निवेदन दिएपछि मात्र नाम फिर्ता मान्य हुने व्यवस्था गरेको थियो । यस व्यवस्थाले उम्मेदवारको अधिकार सुरक्षित गर्नुका साथै निर्वाचन प्रक्रियालाई पारदर्शी र कानुनसम्मत बनाउने आयोगको विश्वास छ।

समानुपातिकमा नयाँ नाम पठाउँदा संविधान र कानुनले व्यवस्था गरेको महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम तथा पिछडिएका क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले तोकिएको कार्यतालिकाअनुसार सबै प्रक्रिया सम्पन्न गरी समानुपातिक उम्मेदवारको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। आयोगले सबै राजनीतिक दललाई कानुनी प्रक्रिया पालना गर्दै समयमै आवश्यक निर्णय लिन पुनः आग्रह गरेको छ।

सिफारिस