
काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता भइरहेको छ । सभापतिसहित पदाधिकारी र नयाँ कार्यसमिति चयनका लागि मनोनयन दर्ता गरिएको हो ।
निर्वाचन कार्यतालिका अनुसार नयाँ नेतृत्वका लागि आज राति ९ बजेदेखि मतदान हुनेछ । पार्टी विधानअनुसार सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी दर्ता प्रकृया जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
उम्मेद्वारहरूले प्रस्तावक र समर्थकसहित आवश्यक कागजात बुझाएर उम्मेद्वारी दर्ता गराइरहेका छन् । निर्वाचन समितिले उम्मेद्वारी दर्तापछि प्रारम्भिक नामावली सार्वजनिक गरी उजुरीको समय दिएको थियो । उजुरी फछ्र्योटपछि अन्तिम उम्मेद्वार सूची प्रकाशन गरिने बताइएको छ ।
सभापति पदका लागि ३० हजार, उपसभापति पदका लागि २० हजार, महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्री १० हजार र केन्द्रीय सदस्य पदका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशनमा पार्टीका विभिन्न धारका नेताहरूले आ-आफ्नो समूहबाट उम्मेद्वारी दिएका छन् । यद्यपि निर्वाचन समितिले औपचारिक रूपमा सबै पदका अन्तिम उम्मेद्वारको विस्तृत सूची एकैपटक सार्वजनिक गर्ने जनाएको छ ।