काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत केन्द्रीय सभापति पदमा तीन जनाले उम्मेद्वारी दिएका छन् । विभिन्न समूह र धारका नेताहरूले आ-आफ्नो दाबी प्रस्तुत गरेसँगै सभापति पदमा तीन जनाको उम्मेद्वारी परेको हो ।
यद्यपि निर्वाचन समितिले उम्मेद्वारहरूको औपचारिक अन्तिम नामावली भने सार्वजनिक गरिसकेको छैन। निर्वाचन समितिबाट नाम सार्वजनिक नभएसम्म उम्मेद्वारहरूको औपचारिक पुष्टि हुन सकेको छैन ।
महाधिवेशन स्रोतका अनुसार सभापति पदमा पार्टीभित्र प्रभावशाली नेताहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ । सभापतिसँगै उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका लागि पनि उल्लेख्य संख्यामा उम्मेद्वारी दर्ता भएको जनाइएको छ ।
उपसभापतिमा दुई पदका लागि बहुपक्षीय प्रतिस्पर्धा देखिएको छ भने दुई महामन्त्री र आठ सहमहामन्त्री पदमा पनि आकांक्षीहरूको चाप देखिएको छ ।
महाधिवेशन कार्यतालिकाअनुसार उम्मेद्वारी दर्ता, दाबी-विरोध र अन्तिम सूची प्रकाशनको प्रक्रिया पूरा भएपछि मात्रै उम्मेद्वारहरूको नामसहितको आधिकारिक विवरण सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले केहीबेरमै सभापति तथा अन्य पदका अन्तिम उम्मेद्वार सूची सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।