माओवादी नेता केशव पुडासैनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता केशवप्रसाद पुडासैनी ‘बिमल’ राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। सोमबार रास्वापाको घन्टीघरमा आयोजित कार्यक्रममा उनी रास्वपामा प्रवेश गरेका हुन् ।

पुडासैनीलाई रास्वपाका केन्द्रीय कार्यवाहक सभापति तथा उपसभापति डीपी अर्यालले पार्टीको ब्याज लगाएर औपचारिक स्वागत गरेका थिए ।

पार्टी प्रवेशपछि बोल्दै उनले नेपाली कांग्रेस, एमाले र माओवादीजस्ता पुराना दलहरूले देश र जनताको समस्याको समाधान गर्न नसकेको निष्कर्षमा पुगेको भन्दै रास्वपामा प्रवेश गरेको बताए ।

पुराना दलका असफलताबाट पाठ सिक्दै राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र सुशासन, राष्ट्रिय सार्वभौमिकता, अखण्डता र समृद्धिको दिशामा देशलाई अघि बढाउन सक्ने विश्वासका साथ आफू रास्वपामा आबद्ध भएको उनको भनाइ थियो।

आपूmलाई कम्युनिष्ट भन्ने कुनै पनि पार्टी कम्युनिष्ट पार्टी नभएको र कम्युनिष्टको नाममा हुने राजनीति र आन्दोलन कम्युनिष्ट उद्देश्य प्राप्तिको लागि नभएको निश्कर्ष थियो । नेपालमा कम्युनिष्टको नामका सामन्तवादी वा दलाल पुँजीवादी वामपंथीहरु भएको र विगत २० वर्षको नेपालको सत्ता–राजनीति यी निष्कर्षका आधार भएको भन्दै केही समय अघि उनले माओवादी छाडेको घोषणा गरेका थिए ।

पुडासैनी करिब ३५ वर्ष लामो कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेका पुडासैनीले विशेषतः माओवादी जनयुद्धमा लामो समय बिताएका प्रभावशाली नेता थिए ।