काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मा बीच निर्णायक वार्ता जारी छ। पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि उनीहरू बालुवाटारस्थित देउवा निवासमा छलफलमा जुटेका हुन्।
आज बिहान करिब ९ बजेदेखि सुरु भएको वार्ता अझै जारी रहेको नेताहरूले बताएका छन्। वार्तालाई कांग्रेसको वर्तमान संकट समाधानका लागि निर्णायक मानिएको छ।
वार्तामा विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षका शीर्ष नेताहरू सहभागी छन्। संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य रमेश लेखक, बालकृष्ण खाणलगायत नेताहरू सहभागी छन्।
विशेष महाधिवेशन पक्षबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी छन्। उनीहरू पछिल्लो समय पार्टीभित्र नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको माग गर्दै आएका छन्।
वार्तामा मुख्यतः पार्टीभित्र देखिएको नेतृत्व विवाद, विशेष महाधिवेशन, पार्टी एकता जोगाउने उपाय, आगामी राजनीतिक कार्यदिशा र संगठनात्मक व्यवस्थापन लगायत विषयमा छलफल भइरहेको बताइएको छ।
विशेष महाधिवेशन पक्षले सभापति देउवाले पार्टी नेतृत्व हस्तान्तरणको वातावरण बनाउनुपर्ने अडान राखेको छ भने देउवा पक्षले विधान र प्रक्रियाअनुसार अघि बढ्नुपर्ने धारणा राखेको स्रोतले जनाएको छ।
वार्ता जारी रहे पनि हालसम्म ठोस सहमति भने जुटिसकेको छैन। सहभागी नेताहरूका अनुसार छलफल सौहार्दपूर्ण वातावरणमा भइरहेको भए पनि मुख्य विषयमा सहमति नजुट्दा निष्कर्ष आउन समय लाग्ने देखिएको छ।
पार्टी विभाजनको सम्भावनालाई टार्न दुबै पक्ष वार्तामार्फत समाधान खोज्ने प्रयासमा रहे पनि वार्ता कुन दिशातिर मोडिन्छ भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।
कांग्रेसभित्रको आन्तरिक तनाव चुलिँदै गएकाले यस वार्ताको नतिजालाई राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ। वार्ताको परिणामले पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।