काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ हायुटारस्थित नेपाल एसबिआई बैंकको शाखामा मंगलबार साँझ नकाबधारी समूहद्वारा लुटपाट गरिएको छ । स्थानीय प्रहरीका अनुसार लुटेराहरूले बैंकका सुरक्षागार्ड तथा कर्मचारीलाई पेस्तोल र खुकुरी देखाएर कुटपिट तथा नियन्त्रणमा लिई रकम लुटेका हुन् ।
प्रहरीका अनुसार यस लुटपाटमा १२ जनासम्मको समूह संलग्न रहेको आशंका गरिएको छ । उनीहरू सुमो गाडी रिजर्भ गरेर बैंकमा पुगेका थिए । लुटेराले बैंकबाट ३ करोड ११ लाख रुपैयाँ रकम लुटेको प्रारम्भिक अनुमान गरिएको छ ।
घटनापश्चात सुमो गाडी र चालकसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी स्रोतको भनाई छ ।
गाडी र बरामद रकम अहिले इलाका प्रहरी कार्यालय बस्तीपुरमा राखिएको छ । बाँकी लुटेरा अझै फरार रहेका छन् । स्थानीय स्रोत तथा प्रहरीले दिएको जानकारीअनुसार, बैंक लिन पुगेका लुटेराहरूले सुरक्षागार्डलाई बाँधेर र कर्मचारीलाई भयभीत बनाउँदै नगद राखिएको बोरा लिएर जंगलतर्फ भागेका थिए ।
खोजीको क्रममा जंगल क्षेत्रमा दुई बोरा नगद रकम फेला परेको र बाँकी रकमको खोजी तीव्र पारिएको बताइएको छ ।
प्रहरीले घटनामा संलग्न लुटेराहरूको खोजी कार्य तीव्र बनाएको छ ।