काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत सभापति पदका लागि महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार हालसम्म सभापतिमा एकल उम्मेदवारका रूपमा थापाले नाम दर्ता गराएका हुन् ।
महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि दुई नेताले उम्मेदवारी दिएका छन् । महामन्त्रीमा वर्तमान महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार अन्य पदहरू उपसभापति, सहमहामन्त्रीलगायत पदमा नाम दर्ता प्रक्रिया जारी रहेको छ ।
यसैबीच विशेष महाधिवेशनअघि पार्टी सभापति शेरबहादुर देउवासँग गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताबीच भएको वार्ता निष्कर्षविहीन बनेको छ । पार्टीभित्र देखिएको विवाद समाधान गर्ने उद्देश्यले भएको उक्त वार्तामा नेतृत्व व्यवस्थापन, विशेष महाधिवेशनको वैधता र आगामी कार्यदिशाका विषयमा छलफल भए पनि सहमति जुट्न सकेन ।
वार्तामा बिशेष महाधिवेशन पक्षले नेतृत्व परिवर्तन र साझा सहमतिको प्रस्ताव अघि सारेको थियो भने सभापति देउवाले विशेष महाधिवेशनप्रति असहमति जनाउँदै आफ्नो अडान कायम राखेका थिए । सहमति नजुटेपछि विशेष महाधिवेशन पक्षले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
पार्टीभित्रको आन्तरिक विवादका बीच सुरु भएको विशेष महाधिवेशनलाई कांग्रेसभित्र नेतृत्व परिवर्तन र संगठनात्मक पुनर्संरचनाको प्रयासका रूपमा हेरिएको छ । निर्वाचन प्रक्रिया पूरा भएसँगै महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने अपेक्षा गरिएको छ ।