काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयलाई लिएर उत्पन्न विवाद समाधानका लागि आज बिहानैदेखि भएको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीचको वार्ता असफल भएको छ । सहमतिका अन्तिम प्रयाससमेत निष्कर्षविहीन भएपछि कांग्रेसभित्रको आन्तरिक संकट थप गहिरिएको छ ।
वार्ता असफल भएसँगै विशेष महाधिवेशन पक्षधर समूहले निर्धारित कार्यक्रमअनुसार उम्मेदवारी दर्ता प्रक्रिया अघि बढाएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले विभिन्न पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् । यसले पार्टीभित्र समानान्तर शक्ति संघर्ष खुला रूपमा सतहमा आएको देखिएको छ ।
संस्थापन पक्षका तर्फबाट वार्तामा सहभागी नेता रमेश लेखकले विशेष महाधिवेशन पक्षधरसँग भइरहेको छलफल असफलताउन्मुख भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनका अनुसार सहमतिको आधार खोज्ने प्रयास अन्तिम क्षणसम्म गरिए पनि दुवै पक्षबीच मत एकता हुन सकेन ।
यसैबीच, संस्थापन पक्षले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै पार्टी विधान र विधानविपरित गतिविधि भएको दाबी गर्दै आएको छ । विशेष महाधिवेशन पक्षधर समूह भने पार्टीभित्रको बढ्दो असन्तोष र नेतृत्वप्रतिको असहमतिको परिणामस्वरूप विशेष महाधिवेशन अपरिहार्य भएको बताउँदै आएको छ ।
कांग्रेसभित्रको विवाद अब केवल आन्तरिक असन्तोषमा सीमित नरही नेतृत्व र वैधानिकतासँग जोडिएको गम्भीर संकटमा रूपान्तरण भएको बताइएको छ । राजनीतिक विश्लेषकहरूले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएमा पार्टी औपचारिक रूपमा विभाजनतर्फ जान सक्ने सम्भावना औँल्याएका छन् ।
कांग्रेसका केही वरिष्ठ नेताहरूले अझै पनि अन्तिम घडीसम्म सहमतिको ढोका बन्द नभएको बताउँदै आएका छन् । उनीहरूले निर्वाचन प्रक्रिया अघि बढे पनि परिणामपछि पुनः एकताको प्रयास हुन सक्ने सम्भावनालाई नकार्न नसकिने बताएका छन् ।