सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रमा शुक्रबार बिहान मार्बल बोकेर जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ट्रकमा लोड गरिएको मार्बलले किचिँदा उनीहरुको मृत्यु भएको हो।
मृत्यु हुनेमा सुनसरी बर्जु वडा नं का ३२ वर्षीय वीरेन्द्र गुरुङ, सोही ठाउँका ५५ वर्षीय बह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङ छन् । ट्रकको पछाडिको भागमा बसेका उनीहरुको मार्बलले किचिएर ज्यान गएको प्रहरीले जनाएको छ।
मृतकहरु सबैजना बर्जु वडा नं १ का एकै बस्तीका पाँच जनाको रहेको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरी उपरीक्षक चन्द्र खड्काले जनाकारी दिए ।
प्रहरीका अनुसार दुर्घटनामा तीन जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि विराटनगरस्थित अस्पतालमा लगिएको छ। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।
दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको र अत्यधिक भार वा तीव्र गतिका कारण ट्रक अनियन्त्रित भई दुर्घटना हुनसक्ने अनुमान गरिएको छ।
घटनापछि केही समय राजमार्ग अवरुद्ध भएको थियो भने प्रहरी र स्थानीयको सहयोगमा ट्रक हटाएपछि सवारी आवागमन पुनः सुचारु गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।