यूएईका बिभिन्न कलेजमा पढ्न पठाउने नाममा ठगी, राजधानीका ५ कन्सल्टेन्सी संचालक पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा अध्ययनका लागि नेपाली विद्यार्थीलाई अध्ययनका लागि पठाउने भनी लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा पाँच कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार पक्राउ परेका व्यक्तिहरूले विद्यार्थीहरूलाई फ्रान्स, अष्ट्रेलिया लगायतका देशको विश्वविद्यालयसँग सम्बन्धित हुने र यूएईका कलेजमा क्रेडिट ट्रान्सफर हुने भनी झुक्याएर ठगी गरेको आरोप छ ।

पक्राउ पर्नेहरुमा बेस्ट पाथ एजेकेशन प्रालिका कृष्ण थापा, मर्सी एजेकेशन कन्सलटेन्सीका संचालक रामचन्द्र टन्डन, सिटिहव एजुकेशन नेटवर्क प्रालिका सुवास सिलवाल क्षेत्री, कान्तिपुर एबरोड कन्सलट्यान्ट प्रालिका हेम राज भट्ट र दामोदर ढकाल रहेका छन् ।

प्रहरीले उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को ठगी सम्बन्धी कसुरमा पक्राउ गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ। उनीहरुलाई आवश्यक अनुसन्धान पश्चात कानूनी कारबाही अघि बढाइने जानकारी दिइएको छ।

ती कलेज र तालिम केन्द्रहरू यूएई उच्च शिक्षा मन्त्रालय (एम.ओ.एच.सि.आर.सी) तथा शैक्षिक मान्यता आयोग (सिएए) बाट मान्यता प्राप्त नभएको पुष्टि भएको छ ।

पक्राउ परेका कन्सल्टेन्सी सञ्चालकहरूले विद्यार्थीहरूबाट ८ लाखदेखि २२ लाख रुपैयाँसम्म रकम असुलेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

पीडितहरूले प्रहरीमा १३ वटा उजुरी दिएका थिए। तिनै उजुरीका आधारमा ओरोपीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
प्रहरीले यस्ता नक्कली वा मान्यता नभएका शैक्षिक संस्था र कन्सल्टेन्सीहरूमाथि निगरानी कडा बनाएको बताएको छ ।

विद्यार्थीहरूलाई सावधान रहन र मान्यता प्राप्त शैक्षिक संस्थामा मात्रै आवेदन दिन प्रहरीले सल्लाह दिइएको छ।