विप्लव-मिराज समूहबीच ४ बुँदे सहमति, सर्वपक्षीय सरकार निर्माणका लागि संयुक्त संघर्ष गर्ने घोषणा

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी र ‘जेनजी’ आन्दोलनका अगुवा मिराज ढुङ्गाना नेतृत्वको समूहबीच सर्वपक्षीय सरकार गठन र समसामयिक राजनीतिक माग पुरा गर्ने विषयमा ४ बुँदे सहमति भएको छ । बिहीबार दुबै पक्षले हस्ताक्षर गर्दै संयुक्त कार्यक्रममार्फत सहमति घोषणा गरेका हुन्।

सहमति अनुसार विप्लव र ढुङ्गानाले राजनीतिक अस्थिरता, जनस्तरका माग र वर्तमान संवैधानिक अवस्थामा सुधारका लागि संयुक्त रूपमा सर्वपक्षीय सहमति तथा अन्तरिम सरकार गठनका लागि सक्रिय संघर्ष जारी राख्ने प्रतिबद्धता जनाएका छन्।

सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि संघर्ष जारी राख्ने, जेनजी आन्दोलनका मागहरू पुरा गर्न संघर्ष गर्ने, संविधान संशोधन तथा स्थिर सरकारको स्थापना गरी जनताको चाहना अनुसार शासन संरचना निर्माण गर्ने र भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन गरेर भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्ने सहमति भएको छ ।

सहमति पत्रमा हस्ताक्षरपछि दुवै नेतृत्वले देशमा राजनीतिक संवाद, स्थिरता र समावेशी शासन निर्माणतर्फ जनस्तरबाट उठेका मागहरुलाई सम्बोधन गर्ने दिशामा कदम बढाइने बताए।

दुबै पक्षले साझा रणनीति तथा सहकार्यबाट आगामी दिनहरूमा राजनीतिक साझेदारीलाई थप मजबुत बनाउने योजना रहेको बताएका छन्।