फोहोरको नाममा पोखराका मेयरको घृणित राजनीति, ७ करोड हानी पुर्याएर पोखरा दुर्गन्धित !

दियोपोस्ट संवाददाता  

काठमाडौं । पर्यटकीय राजधानी पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको व्यवस्थापकीय लापरबाहीका कारण पोखरा महानगर दुर्गन्धित भएको छ ।

यतिबेला महानगरको सडकका अधिकांश स्थानमा फोहोर थुप्रिएको छ । महानगर फोहोर प्रशोधन केन्द्रका नाममा जनताबाट सस्तोका जग्गा किनेर राज्यलाई महँगोमा विक्री गर्ने रणनीति बनाएको चाल पाएपछि स्थानिय जनता सडकमा उत्रिएका थिए ।

पोखरा ३३ का सोझा स्थानिय जनतासँग कौडीको भाउमा जग्गा किनेर राज्यलाई भने रोपनीको लाखौँ रुपैयाँमा विक्री गर्न खोजिएपछि स्थानियबासीले विरोध गर्दै आएका छन् । केही समयअघि वडा नम्बर ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको व्यक्तिगत खातामा महानगरले ५५ लाख रुपैयाँ जम्मा गरिदिएर बैना गर्ने कोशिस गरेको थियो । तर, यसरी वडाध्यक्षको व्यक्तिगत खातामा रकम हालेर व्यक्तिको जग्गा सेटिङमा हत्याृउने र राज्यलाई ठगी गर्ने प्रपञ्च रहेको खबर बाहिर आएपछि स्थानियबासीले विरोध गर्दै आएका छन् ।

 

केहीदिन अघि सोही ५५ लाख रुपैयाँ आफ्नो व्यक्तिगत खातामा बुझ्ने वडाध्यक्ष रामचन्द्र अधिकारीले खुकुरी देखाउँदै स्थानियमाथि प्रहार गर्ने कोशिस गरेका थिए । महानगरपालिकाका मेयर धनराज आचार्यसँग निकट रहेका वडाध्यक्षअधिकारीले स्थानियबासीलाई खुकुरी प्रहार गर्न खोजेपछि जनताले वडा कार्यालयमा तालाबन्दी गरिदिएका थिए । प्रहरीले खुकुरी देखाउने वडाध्यक्षलाई पक्राउ गरेर मुद्दा चलाउनुको सट्टा संरक्षण गरेर राखेको थियो ।

फोहर मैला व्यवस्थापन ऐन, २०६८ को दफा १२ अनुसार फोहल मैलाको व्यवस्थापनको लागि आवश्यक पर्ने पूर्वाधार एवं संरचना निर्माण तथा संचालन गर्ने, फोहोर मैलाको व्यवस्थापन गर्ने सम्पूर्ण जिम्मा स्थानिय तहको हुने उल्लेख छ । सोही ऐनको दफा १३ अनुसार स्थानीय तहको स्वीकृति नलिई कसैले पनि फोहरमैला सम्बन्धी काम गर्न नपाउने र दफा १४ मा अनुमति प्राप्त नीजि क्षेत्रको कम्पनि तथा सामुदायीक क्षेत्रबाट दफा १५ अनुसार बोलपत्र आह्वान गरी प्रतिष्पर्धा गराई फोहरमैलाको व्यवस्थापन गराउनुपर्ने उल्लेख छ । तर, पोखरा महानगरपालिकामा भने विगत देखि नै ६ वटा कम्पनिले मनोमानी रुपमा बिना प््रतिष्पर्धा सम्झौता गरी पटक पटक म्याद थप गर्दै कार्य गर्दै आएका छन् । २०७९ जेठमा पोखरा महानगरको मेयरमा निर्वाचित भएका धनराज आचार्यले श्रावण २४ को नगरकार्यापालिकाको विशेष नगरशभाबाट गैरकानुनी रुपमा तीनै ६ वटा कम्पनिलाई फोहोरमैला ऐन, २०६८ को दफा १५ विपरित रकम संकलन गर्ने जिम्मा दिएका थिए ।

प्रगती संसार नेपाल प्रा.ली नामक कम्पनिले आर्थिक वर्ष २०७८।७९ मा २ करोड ९ लाख ४३ हजार ६ सय ८ रुपैयाँ बुझाउने गरि सम्झौता गरेको थियो । तर मेयर आचार्यले भने सोही कम्पनिलाई ५ सय प्रतिशत घटिमा अर्थात आर्थिक वर्ष २०७९।८० मा ४१ लख ८८ हजार ७ सय ७२ रुपैयाँमा सम्झौता गरेका थिए । यो सम्झौताबाट मेयर आचार्यलाई राम्रै आर्थिक लाभ भएको स्रोतले बताएको छ । त्यस्तै पोखरा फोहोरमैला व्यवस्थापन प्रा.लीले आर्थिक वर्ष २०७८।७९ मा १ करोड १७ लाख ६९ लाख ३ सय ३६ रुपैयाँ बुझाउने गरि सम्झौता गरेको थियो । तर, मेयर आचार्यले सोही कम्पनिलाई आफ्नो कार्यकालमा आर्थिक वर्ष २०७९।८० मा ५ सय प्रतिशत घटिमा अर्थात २३ लाख ५३ हजार ८ सय ६७ रुपैयाँमा सझौता गरिदिएका थिए ।

नेपाल पब्लिक हेल्थ एण्ड ईन्भाइरोनमेन्ट फर डिभलपमेन्ट प्रा.ली लाई आर्थिक वर्ष २०७८।७९ मा १ करोड ३० लाख २ हजार ७१ रुपैयाँ बुझाउने गरि सम्झौता गरिएको थियो । तर, मेयर आचार्यले आर्थिक वर्ष २०७९।८० मा १ सय प्रतिशत घटाएर १३ लाख २ सय ७ रुपैयाँमा सम्झौता गरिदिए ।
भद्रकाली वेष्ट म्यानेजमेन्ट प्रा.लीसँग आर्थिक वर्ष २०७८।७९ मा २ करोड २० लाख १३ हजार ९ सय ५५ रुपैयाँ बुझाउने गरि सम्झौता भएको थियो तर, मेयर आचार्यले आफ्नो कार्यकालमा ५ सय प्रतिशत घटाएर ४४ लाख २ हजार ७ सय ९१ रुपैयाँ मात्रै बुझाउने गरि सम्झौता गरिदिए ।

वातावरणीय सुन्दर नेपाल संस्थासँग आर्थिक वर्ष २०७८।८९ मा ६१ लख ८६ हजार १७ रुपैयाँमा सम्झौता भएकोमा मेयर आचार्यको कार्यकालमा ५ सय प्रतिशत घटिमा अर्थात १२ लाख ५७ हजार २ सय ३ मा सम्झौता गरियो । त्यस्तै वेष्ट म्यानेजमेन्ट रिसाइक्लिङ प्रा.लीसँग आर्थिक वर्ष २०७८।७९ मा १ करोड १३ लाख ४८ हजार १ सय ५२ मा सम्झौता भएकोमा मेयर आचार्यले ५ सय प्रतिशत घटाएर २२ लाख ६९ हजार ६ सय ३१ रुपैयाँमा सम्झौता गरेका थिए । यी ६ वटै कम्पनिसँगको सम्झौतामा मेयर आचार्यको कार्यकालमा कुल ६ करोड ९५ लाख ९० हजार ५ सय १८ रुपैयाँ राजश्व नोक्सानी हुने गरि सम्झौता गरेको थियो ।

महालेखा परिक्षकको कार्यालयले गरेको लेखा परिक्षणका क्रममा महानगरपालिकाका मेयर धनराज आचार्यको कार्यकालमा राजश्व नोक्सान भएको र राज्यलाई क्षेति पुर्याएको भन्दै अनुसन्धान गर्नुपर्ने गरि प्रश्न उठाएको छ ।