आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै

दियोपोस्ट संवाददाता  

काठमाडौँ । निर्वाचन आयोगले आज देशभरका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले १६५ वटै निर्वाचन क्षेत्रमा एकै साथ निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याउने भएको हो ।

आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका सम्पूर्ण प्रक्रिया व्यवस्थापन गर्नका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न लागिएको हो । ती कार्यालयहरूले उम्मेदवारी दर्ता, निर्वाचन कार्यक्रम कार्यान्वयन, निर्वाचन सामग्री व्यवस्थापन, मतदाता तथा सरोकारवाला निकायसँगको समन्वयलगायतका कार्यहरू सम्पादन गर्नेछन् ।

निर्वाचन आयोगले यसअघि नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नियुक्ति गरिसकेको र उनीहरूलाई आजैदेखि आ–आफ्नो निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गरी काम सुरु गर्न निर्देशन दिइने जनाएको छ । आयोगका अनुसार निर्वाचन अधिकृतहरू निर्वाचन क्षेत्रकै सदरमुकाम वा सहज पहुँच हुने स्थानमा कार्यालय स्थापना गरी सेवा प्रवाह गर्नेछन् ।

आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्ने उद्देश्यसहित आयोगले चरणबद्ध रूपमा निर्वाचन तयारीका कार्य अघि बढाइरहेको जनाएको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचनसम्बन्धी प्रशासनिक गतिविधि तीव्र हुने अपेक्षा गरिएको छ ।