काठमाडौं । कांग्रेस पार्टीभित्र आधिकारिक को रहने भन्ने विषयलाई लिएर विवाद थप चुलिँदै गएको छ । पार्टीको वैध नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दै दुवै पक्षले निर्वाचन आयोगमा छुट्टाछुट्टै निवेदन दर्ता गराएपछि आन्तरिक विवाद औपचारिक रूपमै आयोगसम्म पुगेको हो ।
गगन-विश्व समूहले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेसँगै देउवा पक्षले बिहिबार दिउँसो निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्दै निवेदन पेश गरेको छ।
बुधबार भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनमार्फत गगन थापा सभापतिमा निर्वाचित भएसँगै नयाँ केन्द्रीय कार्यसमिति घोषणा भएको थियो। गगन समूहले आफ्नो निर्णय कानुनी आधारमा मान्य भएको दावी गर्दै आयोगमा निवेदन बुझाएको छ।
तर शेरबहादुर देउवा पक्षले भने विशेष महाधिवेशन पार्टी केन्द्रीय समितिको स्वीकृतिबिना आयोजना गरिएको भन्दै उक्त महाधिवेशनबाट बनेको समितिलाई अवैध भनेको छ । यही विषयमा देउवा पक्षले निर्वाचन आयोगमा निवेदन दिएको जनाइएको छ। उनीहरूले गगन थापा र अन्य केही नेताहरूलाई पार्टीबाट कारबाही गरेको सूचना पनि आयोगलाई दिएका छन्।
निर्वाचन आयोगका प्रवक्ताले दुवै पक्षका दाबी प्राप्त भइसकेको र विधान तथा वर्तमान राजनीतिक दल ऐनका आधारमा निर्णय गरिने बताएका छन्।
आयोगले पार्टीको नाम, चिन्ह (रूख) र नेतृत्व आधिकारिकता कसलाई दिने भन्ने विषयमा छिटो निर्णय गर्ने बताएको छ ।