काठमाडौँ। नेपाली कांग्रेसमा आधिकारिकता विवाद उत्कर्षमा पुगेको छ । आधिकारिकता दाबी गर्दै गगन थापा पक्ष र शेरबहादुर देउवा पक्ष दुबैले आयोगमा आ-आफ्ना दाबी र आवश्यक कागजात बुझाइसकेका छन् ।
दुबै पक्षले आ आफ्नो दाबीसहित निवेदन पेश गरेपछि निर्वाचन आयोगमा दुबै पक्षबाट दबाव सुरु भएको छ ।
देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले आयोगमा ८८५ प्रतिनिधिका हस्ताक्षर फिर्ता भएको प्रमाण पेश गरेको दाबी गरेको छ । देउवा समूहले पार्टी विधानअनुसार आफ्नो पक्षको वैधानिकता रहेको र विशेष महाधिवेशन अवैधानिक भएको जनाएको छ ।
यता, गगन थापा समहुले निर्वाचन आयोगमा २६५२ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएको बताएका छन् । विशेष महाधिवेशनको माग गर्दा २४८८ जना महाधिवेशन सदस्यको संख्या रहेको, जुन सम्पूर्ण सदस्य संख्या ४६३५ को ५४.५८ प्रतिशत रहेकोमा महाधिवेशनमा सहभागी संख्या २६५२ अर्थात् ५७.२१ प्रतिशत रहेको थापा पक्षको दाबी छ ।
यसैबीच, विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितको केन्द्रीय समिति आज दिउँसो २ बजे निर्वाचन आयोगमा पुग्ने तयारीमा छ । गगन पक्षले आफ्नो दाबी प्रमाणित गर्न आवश्यक कागजात र विवरण आयोगमा पेश गर्नेछ ।
निर्वाचन आयोगले दुवै पक्षका दाबी र कागजातको अध्ययन सुरु गरिसकेको छ । तर आयोगको निर्णय कहिले आउने हो स्पष्ट छैन । तर पार्टीभित्रको विवाद र आगामी उम्मेदवार मनोनयन नजिकिँदै गर्दा आयोगमाथि शीघ्र निर्णय गर्ने दबाब बढिरहेको छ ।
आयोगले आधार र प्रमाणको मूल्याङ्कन गरेर एक पक्षलाई आधिकारिकता दिने निर्णय गर्नेछ । यदि आयोगको निर्णय दुवै पक्षलाई स्वीकार्य नहुने हो भने असन्तुष्ट पक्षले रिट दायर गर्ने सम्भावना पनि छ ।