काठमाडौं । नेपाली कांग्रेस देउवा पक्षले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन सम्पन्न गरेको छ। विधान, आधिकारिकता र महाधिवेशनबारे धारणा सार्वजनिक गर्नका लागि देउवा पक्षीय कांग्रेसले पत्रकार सम्मेलन गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको वर्तमान अवस्था, आन्तरिक विवाद र नेतृत्वसम्बन्धी विषयमा धारणा सार्वजनिक गरे ।
खड्काले पार्टी विधानअनुसार केन्द्रीय कार्यसमितिले गरेका निर्णय नै आधिकारिक र वैधानिक हुने बताए । विधानविपरीत गतिविधि गर्ने नेताहरूलाई कारबाही गर्ने अधिकार केन्द्रीय कार्यसमितिसँग रहेको उल्लेख गर्दै खड्काले हाल देखिएको विवाद विधान र प्रक्रियाभित्र बाटैसमाधान गरिने प्रस्ट पारे ।
उनले पार्टीभित्र केही नेताहरूले अघि सारेको विशेष महाधिवेशनको प्रक्रिया विधानसम्मत नरहेको दाबी गरे । विधानमा तोकिएको प्रक्रिया पूरा नगरी गरिने कुनै पनि गतिविधि पार्टीको आधिकारिक निर्णय मान्न नसकिने उनको भनाइ छ ।
कार्यवाहक सभापति खड्काले नेपाली कांग्रेसको आधिकारिक नेतृत्व र संरचना केन्द्रीय कार्यसमितिको निर्णयअनुसार नै कायम रहेको स्पष्ट पार्दै यस विषयमा निर्वाचन आयोगलगायत सम्बन्धित निकायमा पार्टीको आधिकारिक धारणा प्रस्तुत गरिएको जानकारी दिए ।
पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नियमित महाधिवेशन गर्ने तयारी भइरहेको उल्लेख गर्दै खड्काले पार्टी एकतालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
पत्रकार सम्मेलनमा देउवा पक्षका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो। पार्टीभित्र देखिएको मतभेदका कारण कांग्रेस दुई धारमा विभाजित देखिए पनि दुवै पक्षले आफूलाई आधिकारिक दाबी गर्दै आएका छन्।
