काठमाडौँ । डिजिटल अधिकार तथा सुरक्षा, सुचना अखण्डता र निर्वाचन रिपोर्टिङ सम्वन्धि प्रयोगात्मक हाते पुस्तिका सार्वजनिक गरिएको छ । ‘डिजिटल राइट नेपाल’ र ‘नेपाल पत्रकार महासंघ’को संयुक्त पहलमा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पुस्तिका सार्वजनिक गरिएको हो ।
आउँदो निर्वाचनलाई मध्यनजर गर्दै पत्रकारको भुमिका, स्वतन्त्र र निश्पक्ष निर्वाचनको वातावरण निर्माण गर्न नागरिक स्तरसम्म सशक्तीकरण गर्ने उद्देश्यले पुस्तिका सार्वजनिक गरिएको बताइएको छ ।
कार्यक्रममा बोल्दै निर्वाचन आयोगका मुख्य निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले पुस्तिका पत्रकार र पत्रकारिता सिक्दै गरेकालाई अति उपयोगी हुने बताए । निर्वाचन आचार संहिताका विषयमा पत्रकार र नागरिकलाई सचेत गराउनका लागि पुस्तिकाले महत्वपूर्ण भुमिका खेल्ने आयुक्त उप्रेतीले जानकारी दिए ।
बिगतका निर्वाचनको स्मरण गर्दै आयुक्त उप्रेतिले निर्वाचनमा पत्रकारले खेलेको भूमिका अरु कुनै क्षेत्रसँग तुलना हुन नसक्ने बताए । ‘दलले आफनो पक्षमा मत प्राप्त गर्न अनेक हतकण्डा अपनाउँछन त्यसलाई निस्तेज पार्न आर्थिक टुलदेखि सबै स्रोत साधन आयोगले अपनाउँछ । तर पत्रकारले बौद्धिक दक्षता, शक्तिशाली शब्द प्रयोग गर्छन,’ उनले भने ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्माले पछिल्लो समय बढदो मिस इन्फोरमेसन र डिसइन्फोरमेसनका कारण मर्यादित र स्वतन्त्र पत्रकारितामा चुनौति थपिएको बताइन् । मिसइन्फोरमेशनका कारण पछिल्लो समय मिडियाहरु जोखिममा रहेको र महिला पत्रकारहरु झन बढी जोखिममा रहेको भन्दै अध्यक्ष शर्माले देशै भरि छरिएर रहेका पत्रकारलाई डिजिटल सुरक्षा र विश्वसनीय सुचना सम्वन्धि तालिम दिने महासंघको लक्ष्य रहेको जानकारी दिइन् ।
उनले आउँदो निर्वाचन निश्पक्ष र धाँदली रहित बनाउन पत्रकारले महत्वपूर्ण भुमिका खेल्ने धारणा ब्यक्त गरिन् ।
सो अवसरमा राष्ट्रिय निर्वाचन पर्यवेक्षक (नियोग)का अध्यक्ष गोपाल कृष्ण सिवाकोटीले निर्वाचनप्रति अहिलेका युवाहरु सचेत रहेको र डिजिटल सुचना तथा प्रविधि प्लेटफर्मको दुरुपयोग ५० प्रतिशत माथि हुन सक्ने बताए । उनले पोलिटिकल फाइनान्स पारदर्शी भएन भन्ने आचार संहिता पालनामा चुनौति रहने धारणा ब्यक्त गरे ।
निर्वाचनमा पत्रकार र राजनैतिक दलको निम्ती छुट्टा छुट्टै आचार संहिता रहेको भन्दै अध्यक्ष सिवाकोटीले कानुनको दायरामा रहेका मिडिया र दर्ता नभएकालाई पनि आयोगले समेट्ने बताए । जसरी भए पनि चुनाब जित्नै पर्छ भन्ने मान्यताले गर्दा निर्वाचन निश्पक्ष हुने कुरामा चुनौति थपिएको उनको भनाई छ ।
प्रेस काउन्सिलका अध्यक्ष डाक्टर कुमार शर्मा आचार्यले कसैको प्रतिष्ठामा आँच पुऱ्याउने र माफी माग्ने भन्दा त्यस्तो गल्ती नै नगरोस् भन्ने नियमनको प्रयासमा काउन्सिल रहेको बताए ।
अध्यक्ष आचार्यले मिथ्या सूचनाले निर्वाचनलाई प्रभावित पार्न सक्ने भन्दै यसतर्फ सचेत रहन सरोकारवालाहरुलाई आग्रह गरे ।
सो अबसरमा ‘स्वतन्त्र, निश्पक्ष निर्वाचन र सुचना अखण्डता’ विषयक अन्र्तकृया कार्यक्रम समेत गरिएको थियो । नेपाल पत्रकार महासंघका सचिब प्रकाश धौलाकुटीको संयोजनमा सम्पन्न अन्र्तकृयामा निर्वाचन आयोगका मुख्य निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, राष्ट्रिय निर्वाचन पर्यवेक्षक (नियोग)का अध्यक्ष गोपाल कृष्ण सिवाकोटी र प्रेस काउन्सिलका अध्यक्ष डाक्टर कुमार शर्मा आचार्यले धारणा ब्यक्त गरेका थिए ।
