काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई पार्टीको आधिकारिक हैसियत प्रदान गरेको छ । आयोगले पार्टीभित्र देखिएको नेतृत्व विवाद टुंग्याउँदै थापा नेतृत्वको कार्यसमितिलाई वैधानिक मानेको हो ।
आयोगको निर्णयसँगै नेपाली कांग्रेसको नाम, झण्डा र चुनाव चिह्न प्रयोग गर्ने अधिकार गगन थापा नेतृत्वको पक्षले पाएको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन तथा नियमावलीको व्यवस्था अनुसार दुवै पक्षका कागजात, दाबी र प्रमाण अध्ययन गरी निर्णय गरिएको जनाएको छ ।
पार्टीभित्र लामो समयदेखि जारी आन्तरिक विवादका कारण कांग्रेस दुई धारमा विभाजित भएको थियो । एक पक्षले विशेष महाधिवेशनमार्फत गगन थापालाई नेतृत्व चयन गरेको दाबी गर्दै आएको थियो भने अर्को पक्षले उक्त प्रक्रिया वैधानिक नभएको भन्दै अस्वीकार गर्दै आएको थियो । विवाद समाधानका लागि दुवै पक्ष निर्वाचन आयोग पुगेका थिए ।
निर्वाचन आयोगमा दर्ता गराइएका कागजात, प्रतिनिधिहरूको समर्थन र पार्टी विधानका प्रावधानको मूल्यांकनपछि आयोगले थापा नेतृत्वको पक्षलाई आधिकारिक ठहर गरेको हो । आयोगको निर्णयपछि पार्टीको आधिकारिक संरचना, निर्णय प्रक्रिया र चुनावी गतिविधिमा स्पष्टता आएको बताइएको छ ।
निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि देउवा पक्षले कानुनी र राजनीतिक विकल्प खुला रहेको बताएको छ ।