काठमाडौं । निर्वाचन आयोगको पछिल्लो निर्णयको विरोधमा नेपाली कांग्रेसको देउवा पक्ष प्रदर्शनमा उत्रिएको छ । देउवा पक्षका नेता तथा कार्यकर्ताहरू निर्वाचन आयोगको केन्द्रीय कार्यालय अगाडि भेला नाराबाजी गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले निर्वाचन आयोगले पार्टीको विधान, परम्परा र आन्तरिक प्रक्रियालाई बेवास्ता गर्दै निर्णय गरेको आरोप लगाएका छन् । उनीहरूले आयोगका प्रमुख निर्वाचन आयुक्त विरुद्ध नाराबाजी गर्दै उक्त निर्णय तत्काल सच्याउन माग गरेका छन् ।
देउवा पक्षले आयोगको निर्णय नमान्ने बताएका छन् । उनीहरुले निर्वाचन आयोग राजनीतिक दबाबमा परेको दाबी गर्दै निष्पक्ष र संविधानसम्मत निर्णय गर्नुपर्ने बताएका छन् ।
प्रदर्शनका क्रममा अप्रिय घटना हुन सक्ने भन्दै सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । देउवा पक्षले माग सम्बोधन नभए आन्दोलनलाई देशव्यापी रूपमा विस्तार गर्ने र तोडफोड गर्ने चेतावनीसमेत दिएको छ ।
यता निर्वाचन आयोगले भने आफ्नो निर्णय संविधान, कानुन तथा राजनीतिक दलसम्बन्धी ऐनको आधारमा गरिएको बताउँदै आएको छ । आयोगले सबै पक्षलाई संयमित रहन र कानुनी प्रक्रियामार्फत असहमति राख्न आग्रह गरेको छ ।