काठमाडौँ । केही हप्ता अघि नेकपा (एमाले) परित्याग गरेको घोषणा गरेका रुपन्देहीका एमाले नेता वासुदेव घिमिरेलाई एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि टिकट दिएको छ । एमालेले घिमिरेलाई रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एमालेको शनिबार बसेको सचिवालय बैठकले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी स्रोतले जनाएको छ । यस निर्णयसँगै पार्टी परित्यागको घोषणा गरेका घिमिरे पुनः एमालेको औपचारिक उम्मेदवार बनेका छन् ।
यसअघि घिमिरेले सार्वजनिक रूपमै आफू एमालेमा नरहेको बताएका थिए । उनले सामाजिक सञ्जालमार्फत पार्टीसँग असन्तुष्टि जनाउँदै अलग हुने भएको घोषणा गरेका थिए । त्यसपछि उनी अन्य राजनीतिक दलसँग संवादमा रहेको भन्ने चर्चा व्यापक रूपमा चलेको थियो ।
तर पार्टी नेतृत्व र एमाले उपाध्यक्ष विष्णु पौडेलले घिमिरेसँग निरन्तर संवाद गरी पार्टीमै राख्न प्रयास गरेपछि उनी पुनः एमालेमै रहने निष्कर्षमा पुगेको बताइन्छ । पार्टी स्रोतका अनुसार स्थानीय जनमत र संगठनमा घिमिरेको प्रभावलाई मध्यनजर गर्दै एमालेले उनलाई टिकट दिएको बताइएको छ ।
एमाले उपमहासचिव लेखराज भट्टले सार्वजनिक गरेको उम्मेदवार सूचीमा रुपन्देही-३ बाट वासुदेव घिमिरेको नाम समावेश गरिएको छ । पार्टीले देशभरका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याउने क्रम जारी राखेको जनाएको छ ।
स्थानीय राजनीतिक वृत्तमा घिमिरेलाई प्रभावशाली नेताका रूपमा लिइन्छ । यसअघि पनि उनी एमालेबाट निर्वाचित भइसकेका छन् । उनको उम्मेदवारीले रुपन्देही-३ को चुनावी प्रतिस्पर्धा थप रोचक हुने विश्लेषण गरिएको छ ।
एमालेको यो निर्णयलाई पार्टीभित्र असन्तुष्ट नेताहरूलाई समेट्दै चुनावी रणनीति बलियो बनाउने प्रयासका रूपमा हेरिएको छ ।