काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा समूहलाई दिएपछि आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्व समूह सर्वोच्च अदालत जाने भएको छ। देउवा समूह आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्न सर्वोच्च जाने भएका हुन् ।
निर्वाचन आयोगले हालै गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक दलको मान्यता दिएपछि पार्टीभित्र विवाद चर्किएको छ। आयोगको उक्त निर्णयलाई देउवा पक्षले अस्वीकार गर्दै कानुनी रूपमा चुनौती दिने निर्णय गरेको हो।
देउवा समूहका नेताहरूले निर्वाचन आयोगले पार्टीको विधान, संविधान तथा स्थापित अभ्यासको उल्लंघन गर्दै हतारमा निर्णय गरेको आरोप लगाएका छन्। देउवा पक्षधर समुहले विशेष महाधिवेशनको प्रक्रिया नै अवैध भएकाले त्यसका आधारमा गरिएको आधिकारिकता सम्बन्धी निर्णय मान्य हुन नसक्ने दाबी गरेका छन् ।
देउवा पक्षले सर्वोच्च अदालतमा दायर गर्न लागेको रिटमा निर्वाचन आयोगको निर्णय बदर गर्न माग गरिने जनाइएको छ। साथै, अदालतसँग अन्तरिम आदेश माग गर्ने तयारी पनि गरिएको स्रोतले जनाएको छ।
यता, गगन थापा नेतृत्वको पक्षले भने निर्वाचन आयोगको निर्णय कानुनसम्मत र विधिसम्मत रहेको दाबी गर्दै आएको छ। थापा समूहले आयोगले सबै कागजात, विधान र प्रक्रियाको अध्ययनपछि नै आधिकारिकता दिएको बताउँदै आएको छ।
अदालतले अन्तरिम आदेश दिएमा कांग्रेसको आधिकारिकता र चुनावी गतिविधि प्रभावित हुन सक्ने देखिन्छ। अन्तिम फैसला कांग्रेसको भावी नेतृत्व र दलको दिशा निर्धारण गर्ने महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।
नेपाली कांग्रेसभित्रको यो विवाद अहिले कानुनी लडाइँतर्फ मोडिँदै गएको छ भने सबैको ध्यान अब सर्वोच्च अदालतको निर्णयतर्फ केन्द्रित भएको छ।