सातौँ पटक चुनावी मैदानमा बिष्णु पौडेल, १८ वर्षअघि बुवासंग अहिले छोरासंग चुनाव लड्दै

दियोपोस्ट संवाददाता  

काठमाडौँ । एमाले नेता विष्णु पौडेल २०५१ साल यताका हरेक संसदीय निर्वाचनमा उम्मेद्वार बन्दै आएका छन्। २०५१ सालको मध्यावधि निर्वाचनमा पाल्पा-३ बाट विजयी बनेका पौडेल त्यसयता निरन्तर रुपन्देही-२ बाट चुनाव लडिरहेका छन्।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी पूनः रुपन्देही क्षेत्र नं.२ बाट उम्मेद्वार बन्ने निश्चित भइसकेको छ । यसपटक पौडेल सातौँ पटक संसदीय निर्वाचनमा उम्मेद्वार बनेका छन् । तर अचम्मको कुरा के छ भने, २०६४ सालमा भएको पहिलो संबिधानसभा निर्वाचनमा पुराना माओवादी नेता भक्ति पाण्डेसंग चुनाबी प्रतिस्पर्धा गरेका उनी १८ वर्ष पछि उनै भक्तिका छोरा विश्वदिप पाण्डेसंग चुनाव लडदैछन् ।

पौडेलको उम्मेद्वारीप्रति विश्वदिप ब्यंग्यात्मक प्रश्न गर्छन्, ‘१८ बर्ष अघि बुबासँग, अहिले मसँग । एमाले नेता विष्णु पौडेल कति पुस्तासम्म अनि कति पुस्तासँग लडिरहनुहुन्छ होला?’

यद्यपी, फागुन २१ गते हुन लागेको प्रनितिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो पहिलो निर्वाचन क्षेत्र पाल्पा फर्किने चर्चा थियो । यसबारेमा विश्वदीप भन्छन्, ‘संसदीय राजनीतिमा मेरो बुबाभन्दा पनि धेरै अघि, २०५१ सालदेखि प्रायः सबै चुनाव लडिरहनु भएका आदरणीय विष्णु पौडेल यसपटक रुपन्देही छोडेर पाल्पाबाट चुनाव लड्ने चर्चा थियो। तर पाल्पामै उहाँको पार्टीभित्र विरोध भएपछि उहाँ पुनः रुपन्देही फर्किनु भएको छ। यो वास्तविकतालाई रुपन्देहीका न्यायप्रेमी जनसमुदायले अवश्य मनन गर्नेछन्।’

राजनीतिक यात्राको क्रममा पहिले हजुरबुवा पुस्तासँग चुनावी प्रतिस्पर्धा गरेका पौडेलले अहिले नाती पुस्तासँग चुनाव लड्दैछन्। एउटै अनुहार पटक पटक चुनाबी मैदानमा देखिने प्रबृति फेरि पनि देखा परेको उनको भनाई छ ।

नयाँ पुस्ताले नरुचाएको यही राजनीतिक प्रवृत्तिका विरुद्ध जेन-जी पुस्ताले भदौ २३ र २४ गते विद्रोह गरेका र जसको परिणामस्वरूप मुलुक ‘अर्ली इलेक्सन’तर्फ धकेलिन पुगेको विश्वदिप बताउँछन् । पुराना नेतालाई पाखा लगाउन चुनाव गर्नु परेको भएपनि तिनै नेता पुस्तौँदेखि उम्मेद्वार बन्नुले जेनजी बिद्रोहमाथि अपमान भएको विश्वदिपको ठहर छ ।

विश्वदिप नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट रुपन्देही २ का लागि उम्मेद्वार बनेका छन् । उनको यो पहिलो उम्मेद्वारी हो ।

यता, बिष्णु पौडेल भने रुपन्देही क्षेत्र नं.२ का २०५६ सालदेखि यताका रैथाने उम्मेद्वार हुन् । २०५६मा पहिले पटक चुनाव हारेका उनले २०६४, ०७०, ०७४ र ०७९ का निर्वाचनमा सोही क्षेत्रबाट लगातार जित हासिल गर्दै आएका छन् ।

आगामी चुनावमा भने आफ्नो पहिलो निर्वाचन क्षेत्र पाल्पा फर्किने चर्चा चले पनि एमाले जिल्ला कमिटी पाल्पाले उनको उम्मेद्वारीलाई सहज रूपमा नलिएका कारण पौडेल पुनः रुपन्देही फर्किएका छन्। उनले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट सातौँ पटक उम्मेद्वारी दर्ता गराएका छन्।

पटक-पटक सांसद र मन्त्री बनेर सत्ताको स्वाद चाखिरहेका पौडेल कुनै पनि हालतमा जित सुनिश्चित गर्नुपर्ने मानसिकतासहित चुनावी मैदानमा उत्रिएको आरोप छ।

यससँगै रुपन्देही-२ मा राजनीतिक पुस्तान्तरण र परिवर्तनको बहस पुनः चर्किएको छ।