काठमाडौँ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सोमबारदेखि ‘कल सेन्टर’ सेवा सुरु गरेको छ । नागरिक, मतदाता तथा सरोकारवालाले निर्वाचनसम्बन्धी कुनै पनि जिज्ञासा भएमा टोल फ्री नम्बर ११०२ मा फोन गरेर जानकारी लिन तथा प्रश्न सोध्न सक्ने आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, कल सेन्टर बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने व्यवस्था गरिएको छ । कल सेन्टरमा ६ वटा डेस्क मार्फत सेवा प्रदान गरिने व्यवस्था भएको आयोगले जनाएको छ । जसमा एकै समयमा धेरै फोनलाई सम्हाल्न सक्ने गरी सेवा सरल र प्रभावकारी बनाइएको बताइएको छ ।
निर्वाचन आयोगले यस कल सेन्टरलाई निर्वाचनका विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण हुने समयसम्मसम्म सञ्चालनमा राख्ने योजना बनाएको छ ।
यस सेवाबाट नागरिकहरूले मतदाता नामावली, मतदान प्रक्रिया, आचारसंहिता, मतदान केन्द्र, उम्मेदवार तथा अन्य निर्वाचनसम्बन्धी सवालको जवाफ पाउन सक्नेछन् ।