काठमाडौँ । नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार पोखराबाट पक्राउ परेका छन् । कास्की प्रहरीले उनीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार प्रसाईंलाई निर्वाचन आयोग विरुद्ध भ्रामक प्रचार तथा आयोगको प्रतिष्ठामा आघात पुर्याउने अभिव्यक्तिको आधारमा पक्राउ गरिएको बताइएको छ ।
केही दिनअघि उनले नेपाली कांग्रेसको विशेष महाधिवेशनमा निर्वाचन आयोगले करोडौँ रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए । प्रसाईंले निर्वाचन आयोगले ५२ करोड रुपैयाँ लिएर नतिजा हेरफेर गरेको दाबी गरेको भिडियो सार्वजनिक गरेका थिए ।
सोही विषयमा निर्वाचन आयोगले निराधार र संस्थाको छवि धमिल्याउने नियत भएको ठहर गर्दै गृह मन्त्रालयमार्फत उजुरी गरेको थियो।
कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले प्रहरीले साइबर ब्युरोबाट प्राप्त पत्रका आधारमा उनलाई पक्राउ गरी काठमाडौँ लैजाने तयरी भएको बताए।
प्रहरीका अनुसार उनीलाई हाल पोखराबाट काठमाडौँतर्फ ल्याउने तयारी भइरहेको छ । र काठमाडौँ पुगेपछि मुद्दा दायर र कानुनी कारबाहीको प्रकृया सुरु गरिने बताइएको छ ।
दुर्गा प्रसाईं नागरिक बचाउ अभियान मार्फत समय- समयमा सरकार, निर्वाचन आयोग र अन्य संवैधानिक निकायविरुद्ध आन्दोलन र अभिव्यक्तिहरू दिँदै आएका छन्।
