देउवाको सट्टामा डडेलधुराबाट नैनसिंह महर उम्मेदवार बन्दै

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले यसपटकको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। पछिल्लो ३४ वर्षदेखि डडेलधुरा निर्वाचन क्षेत्रबाट निरन्तर चुनाव लड्दै आएका देउवाले आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग नलिने घोषणा गरेका हुन्।

देउवाले चुनाव नलड्ने घोषणा गरेसंगै डडेलधुरामा नेपाली कांग्रेसका उम्मेदवारका रूपमा नैनसिंह महर अघि सारिने भएको छ। कांग्रेस स्रोतका अनुसार देउवाको लामो राजनीतिक विरासत बोकेको यस क्षेत्रमा पार्टीले नयाँ नेतृत्वलाई अघि बढाउने रणनीतिसहित महरलाई उम्मेदवार बनाएको हो।

शेर बहादुर देउवा २०४८ सालदेखि डडेलधुराबाट प्रतिनिधित्व गर्दै आएका थिए। उनी सो क्षेत्रबाट पटक–पटक निर्वाचित हुँदै पाचौँ पटकसम्म देशको प्रधानमन्त्री बनेका नेता हुन्। देउवाले चुनाव नलड्ने निर्णय गरेपछि डडेलधुराको राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तन आउने अपेक्षा गरिएको छ।

उम्मेदवार बन्ने नैनसिंह महर नेपाली कांग्रेसका केन्द्रीय नेता हुन्। उनी लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएका छन् र डडेलधुरामा परिचित राजनीतिक व्यक्तित्वका रूपमा चिनिन्छन्।

देउवाको निर्वाचन नलड्ने घोषणालाई कांग्रेसभित्र पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको संकेतका रूपमा हेरिएको छ। यसले आगामी चुनावमा डडेलधुराको राजनीतिक प्रतिस्पर्धा थप चर्किने देखिएको छ।

सिफारिस