काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगलबार देशभर उम्मेदवारी दर्ता सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत देशभर ३ हजार ४८० उम्मेदवारले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन्।
तर यसपाली पनि दलित र महिलालाई उम्मे्दवार बनाउने कुरामा सबै पार्टीले कन्जुस्याइँ गरेका छन् । सबै भन्दा क्रान्तिकारी र आफुलाई समावेशीको जजनी भन्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रत्यक्ष तर्फ जम्मा २ जनालाई उम्मेद्वार बनाएको देखन्छ । नेकपाले स्याङ्जा २ बाट पदम बिश्वकर्मा र कन्चनपुरबाट मान बहादुर सुनारलाई उम्मेद्वार बनाएको छ ।
नेकपा एमालेले बर्दिया २ बाट बिमला बिश्वकर्मालाई मात्र उम्मेद्वार बनाएको छ भने नेपाली कांग्रृसले महोत्तरी ३ बाट बजरंग नेपाली र बझाङबाट प्रकाश रसाइली स्नेहीलाई उम्मेद्वार बनाएको छ ।
आफुलाई नयाँ र उत्कृष्ट भन्ने पार्टी रास्वपाले खगेन्द्र सुनारलाई मात्र उम्मेद्वार बनाएको छ । सुनारले बाँके ३ बाट उम्मेद्वारी दर्ता गरारएका छन् । उनी रास्वपाको एकमात्र दलित उम्मेद्वार हुन् ।
ठुला र आफुलाई उत्कृष्ट भन्ने पार्टीले समेत दलितलाई उम्मेद्वार बनाउने सवालमा कज्युस्याइँ देखाउँदा साना दलको अवस्था पनि उस्तै छ । आयोगको प्रारम्भिक विवरणअनुसार कुल उम्मेदवारमध्ये करिब चार सय महिला रहेका छन् भने बाँकी अधिकांश पुरुष उम्मेदवार छन्।
कुल उम्मेद्वारबाट जम्मा ६ जना मात्र दलितले उम्मेद्वारी दर्ता गराएको देखिन्छ । राज्यको कुल जनसंख्याको १३ प्रतिशत हिस्सा ओगट्ने दलित समुदायको आगामी निर्वाचनमा प्रत्यक्ष तर्फ ०.१७ प्रतिशत मात्रै उम्मेद्वारी देखिन्छ ।
दलित समुदायमा भित्र पनि सबैभन्दा पीँधमा पारिएका दलित महिलाको सवालमा त राजनीतिक पार्टीहरु सबैभन्दा उदासिन देदिन्छन् । ३४ सय ८० जनाको उम्मेद्वारी मध्ये १ जना मात्र दलित महिलाको उम्मेद्वारी सबै भन्दा लज्जाको विषय हो ।
एक जना उम्मेदवारले आफूलाई अन्य (तेस्रो) लिङ्गका रूपमा दर्ता गराएका छन्। यसरी हेर्दा प्रत्यक्षतर्फ महिला सहभागिता अझै न्यून देखिन्छ।
उम्मेदवारी दर्तासँगै दलित तथा दलित महिला उम्मेदवार उठाउन नसक्नु राजनीतिक दलहरू नै समावेशी प्रतिनिधित्वको सवालमा कमजोर देखिएको प्रष्ट भएको छ ।
महिला, दलित र दलित महिलाको सहभागिता समानुपातिक प्रणालीमा केही हदसम्म सुनिश्चित हुने कानुनी व्यवस्था भए पनि प्रत्यक्षतर्फको कमजोर उपस्थिति लोकतान्त्रिक समावेशीताका दृष्टिले चिन्ताजनक विषय बनेको छ ।