आधिकारिक उम्मेदवारलाई चुनौती दिँदै नेकपाका ६ बागी उम्मेदवार

दियोपोस्ट संवाददाता  

काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक असन्तुष्टि सतहमा देखिन थालेको छ । पार्टीले विभिन्न निर्वाचन क्षेत्रमा उठाएका आधिकारिक उम्मेदवारविरुद्ध केन्द्रीय तहका नेता तथा स्थानीय प्रभावशाली व्यक्तिहरूले बागी उम्मेदवारी दर्ता गरेका छन् ।

सिन्धुली-२ मा लेखनाथ दाहाललाई नेकपाले आधिकारिक उम्मेदवार बनाएकोे थियो । तर दाहालविरुद्ध पार्टीकै केन्द्रीय सदस्य तथा प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहालले बागी उम्मेदवारी दर्ता गरेका छन् ।

टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै दाहाल स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएको बतताए । दाहाल जनयुद्धदेखि नै पार्टीमा लागेका पुराना नेता हुन् ।

यसैगरी दाङ-१ मा नेकपाका आधिकारिक उम्मेदवार मेटमणि चौधरीविरुद्ध लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले बागी उम्मेदवारी दर्ता गरेका छन् । पार्टी निर्णयसँग असहमति जनाउँदै केसीले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका बताइएको छ ।

यता, कपिलबस्तु क्षेत्र नम्बर ३ मा पनि नेकपाभित्रको विवादले वागी उम्मेद्वार खडा गरेको छ ।नेकपाले पार्टीका आधिकारिक उम्मेदवार यहसान अहमद खानविरुद्ध पार्टी सदस्य चिन्ता परियारले बागी उम्मेदवारी दर्ता गरेका छन् । परियारले पार्टी निर्णयप्रति असहमति जनाउँदै स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका हुन् ।

परियारले भनेका छन्, ‘पुराना नेताहरुले यो क्षेत्रमा बिकास गर्न सकेनन् । फेरि पुरानै बुढा नेतालाई उम्मेद्वार बनाएको स्थिति देखा परे पछि मैले बागी उम्मेद्वारी दिएको हुँ ।’

परियारले जिल्लाको एक मात्र दलित उम्मेद्वार भएको बताए । जिल्लामा आफ्नो बलियो पकड रहेको र जनताले मन पराएका कारण आफुले उम्मेद्वारी दिएको उनको भनाई छ ।

यस्तै उदयपुर-२ मा नेकपाका आधिकारिक उम्मेदवार सुरेश कुमार राईविरुद्ध मेजर राईले बागी उम्मेदवारी दर्ता गरेका छन् । टिकट वितरण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।राई उदयपुरको लिम्चुङवुङ गाउँपालिका पस्र्व अध्यक्ष समेत हुन् ।

कालीकोट-१ मा पनि पार्टीभित्रको असन्तुष्टि देखिएको छ । यस क्षेत्रमा नेकपाले पूर्वमुख्यमन्त्री महिन्द्र बहादुर शाहीलाई आधिकारिक उम्मेदवार बनाएको छ । तर उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका पार्टी सदस्य जीवन बुढाले शाहीबिरुद्ध वागी उम्मेदवारी दर्ता गरेका छन् ।

शाही यो भन्दा पहिले पनि पटक पटक उम्मेद्वार भई जीत हासिल गर्दै आएका ब्यक्ति हुन् । उनले २०७०, २०७४ र २०७९ सालमा सोही क्षेत्रबाट जितेका थिए ।

त्यस्तै ओखलढुङ्गामा पनि नेकपाका बागी उम्मेद्वार खडा भएका छन् । नेकपाका आधिकारिक उम्मेद्वार अमिर बाबु गुरुङका बिरुद्ध सन्त बहादुर तामाङले बागी उम्मेद्वारी दर्ता गरेका छन् । तामाङ नेकपाको कोशी प्रदेश कमिटि सदस्य र मानोभन्ज्याङ गाउँपालिका ४ का निर्वाचित पूर्व वडा अध्यक्ष समेत हुन् ।

उनले पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बागी उम्मेद्वारी दर्ता गराएको बताएका छन् ।

पार्टीभित्र देखिएको यो बागी उम्मेदवारीको लहरले आगामी निर्वाचनमा नेकपाको मत विभाजन हुने आशंका बढाएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा पार्टीलाई चुनावी परिणाममा प्रत्यक्ष असर पर्न सक्ने देखिन्छ ।