चुनावको मुखैमा उज्यालो नेपाल पार्टीलाई धक्का, ३ केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग

दियोपोस्ट संवाददाता  

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल’ पार्टीका केन्द्रीय तहका तीन जना सदस्यले पार्टी परित्याग गरेका छन् । पार्टी सदस्य डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजमले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

नेतृत्व शैली, निर्णय प्रक्रियामा सहभागी नगराएको र उम्मेदवार छनोटसम्बन्धी असन्तुष्टिका कारण उनीहरुले पार्टी छाडेको पार्टी स्रोतले जनाएको छ ।

उनीहरूले पार्टी नेतृत्व एकल निर्णयतर्फ उन्मुख भएको र प्रारम्भमा गरिएको सहमति कार्यान्वयन नभएको आरोप लगाएका छन् ।

उज्यालो नेपाल पार्टी पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीसँग भएको एकता प्रयास असफल भएपछि थप दबाबमा परेको थियो । एकता भंग भएपछि पार्टीले एक्लै चुनावमा जाने निर्णय गरेसँगै उम्मेदवारी, पद बाँडफाँड र संगठन विस्तारका विषयमा पार्टीभित्र मतभेद चुलिएको बताइन्छ ।

पार्टीले नयाँ राजनीतिक संस्कृतिको कुरा गरेर व्यवहारमा पुरानै शैली देखाएको आरोप लगाइएको छ । यता पार्टी नेतृत्वले भने तीन जनाको बहिर्गमनलाई व्यक्तिगत निर्णय भन्दै पार्टीको चुनावी तयारीमा कुनै असर नपर्ने दाबी गरेको छ ।

चुनाव नजिकिँदै गर्दा उज्यालो नेपाल पार्टीभित्र थप असन्तुष्टि सतहमा आउने कि नेतृत्वले संगठन सम्हाल्न सफल हुने भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।