काठमाडौँ । फ्लाईफिनिक्सले आफ्नो औपचारिक उद्घाटनको पूर्वसन्ध्यामा बिहीबार काठमाडौंकाे बागबजार क्षेत्रमा सरसफाइ कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ । नयाँ सञ्चालनमा आउन लागेको शैक्षिक परामर्श संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित यस अभियानमा संस्थाका सञ्चालक, कर्मचारी, स्थानीय व्यवसायी र टोलवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
बिहान ६स्३० बजेदेखि सुरु भएको उक्त सरसफाइ अभियानले रत्नपार्क आकाशेपुल देखि पुतलीसडक चोकसम्मको क्षेत्रलाई समेटेको थियो । कार्यक्रमका बारेमा जानकारी दिँदै फ्लाईफिनिक्सका प्रबन्ध निर्देशक विजय विश्वकर्माले भने, “हामीले व्यावसायिक लाभ मात्र नभई समाज र समुदायको हितलाई पनि उत्तिकै महत्त्व दिएका छौँ । नयाँ यात्राको सुरुवात स्वच्छ र सुन्दर वातावरणबाट होस् भन्ने उद्देश्यले यो अभियान चलाएका हौँ ।
साथै सरसफाई कार्यक्रममा प्रमुख अतिथितिको रुपमा काठमाडौं महानगरपालिका वडा नम्बर २८ का वडा अध्यक्ष श्री भाइराम खड्की ज्यूले आयोजक संस्थालाई धन्यवाद दिनुका साथै यस्ता कार्यक्रमले महानगरको स्वच्छ महानगर अभियानमा थप टेवा पुग्ने समेत जानकारी दिनुभयो ।
डिजिटल माध्यमबाट आधुनिक र पारदर्शी शैक्षिक परामर्श सेवा दिने लक्ष्य राखेको फ्लाईफिनिक्सको नयाँ कार्यालयको औपचारिक समुद्घाटन भोलि माघ ९ गते, शुक्रबार दिउँसो १२ बजे बागबजारमा हुनेछ । यस संस्थाले उच्च शिक्षाका लागि यूके, अमेरिका, क्यानडा र अस्ट्रेलिया लगायतका देशमा जान चाहने विद्यार्थीहरूलाई लक्षित गरी परामर्श सेवा प्रदान गर्नेछ ।



