काठमाडौँ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा चुनाव नजिकिँदै जाँदा देशभर चुनावी चहलपहल तीव्र बनेको छ। यस निर्वाचनमा प्रत्यक्षतर्फ ३ हजार ४९० उम्मेदवार मैदानमा उत्रिएका छन्।
यसपटक पहिलो पटक निर्वाचन आयोगमा दल दर्ता गरेरै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका ब्यक्ती उम्मेदवार बनेका छन् ।
लामो समयदेखि मानवअधिकार, समान अवसर र सबै नागरिकको सम्मान सुनिश्चित गर्न सक्रिय सामाजिक अभियन्ता सुरेन्द्र पाण्डे काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा होमिएका छन्।
पाण्डे समावेशी समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बनेका हुन् । उनको चुनाव चिन्ह श्रीवत्स रहेको छ ।
पाण्डे नेपालको इतिहासमा पहिलो पटक समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न सफल व्यक्ति हुन्। दक्षिण एसियामै उदाहरणीय मानिने उक्त ऐतिहासिक उपलब्धि उनले तीव्र सामाजिक विरोध, दबाब र चुनौतीका बाबजुद हासिल गरेका थिए।
यही यथार्थता बोकेका पाण्डे अहिले प्रत्यक्ष राजनीतिमा प्रवेश गर्दै संसदमार्फत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका साथै सबै नागरिकका अधिकार सुनिश्चित गर्न उम्मेदवार बनेको उनले बताए ।
पहिलो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेको भन्दै पाण्डेले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरू अहिलेसम्म सक्रिय राजनीतिमा नहोमिएको अवस्थामा आफैँ उम्मेदवार बन्न पाउँदा खुसी लागेको बताए।
उनले भने, ‘काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ विभिन्न दलको हस्तक्षेप र गुट–उपगुट रहेको क्षेत्र हो । उनले भने, “त्यसलाई पनि चिरफार गर्नुपर्छ भनेर उम्मेदवारी दिएको हुँ।’
देशको राजधानी काठमाडौँको क्षेत्र नम्बर १ मा पहिलेदेखि नै राजनीतिक दलहरूको बलियो हस्तक्षेप रहने गरेको उनको अनुभव छ। धेरै राजनीतिक दलहरूको आँखा गाडिएको क्षेत्र भएकाले चुनौती रहेको स्वीकार गर्दै पाण्डेले भने, ‘सबै जनतामाझ जानुपर्छ, हामी पनि भिज्नुपर्छ, हामी पनि चिनिनुपर्छ। चुनौती भए पनि मलाई खासै गाह्रो लाग्दैन।’
आम मतदातालाई बुझाउन सके जुनसुकै चुनौती पनि चिर्न सकिने विश्वास उनले व्यक्त गरे। ‘लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि आवश्यक कानुनहरू बनेका छैनन्,’ उनले भने, ‘संसदमा पुग्नेहरूले हाम्रा लागि कानुन नबनाएकै कारण उम्मेदवार बन्न प्रेरित भएको हुँ। हाम्रा लागि कोही बोल्दिने रहेनछ, त्यसैले आफैँ बोल्न अग्रसर हुनुपर्छ भनेर अगाडि बढेको हुँ।’
समलिङ्गी विवाह दर्ता गराउँदा जस्तै अहिले पनि विरोध गर्नेहरू चुनावमा प्रतिद्वन्द्वीका रूपमा उम्मेदवार बनेको जानकारी आफूलाई भएको पाण्डेले बताए। विवाह दर्ता हुनुअघि पनि तीव्र विरोध भएको स्मरण गर्दै उनले भने, ‘त्यत्रो विरोधका बाबजुद विवाह दर्ता सफल भयो। हरेक चुनौती सामना गर्नकै लागि अभियन्ता बनेको हुँ। यस्ता चुनौतीहरू आइरहन्छन्।’
समलिङ्गी विवाहको विरोध गर्नेहरू चुनावी प्रतिद्वन्द्वी भएर आएको विषयमा प्रतिक्रिया दिँदै पाण्डेले भने, “मलाई भन्दा उहाँहरूलाई नै असर पर्छ ।”
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबाट सुनिलबाबु पन्त एक पटक सांसद भएपछि अहिलेसम्म कुनै पनि व्यक्ति संसदमा पुग्न सकेका नसकेको उनले बताए ।
पाण्डेले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि मात्र नभई काठमाडौँ क्षेत्र नम्बर १ का आम नागरिकका लागि पनि काम गर्ने प्रतिबद्धता जनाए।