काठमाडौँ । नेकपाबाट बागी उम्मेद्वारी दिएका कपिलवस्तु क्षेत्र नं.३ का उम्मेदवार चिन्ता परियारले ‘राइट टु रिकल’ को एजेण्डा अघि सारेका छन् । परियारले जनतको अपेक्षा अनसार काम नगर्ने प्रतिनिधिलाई ‘राइट टु रिकल’ अर्थात जनताले जनप्रतिनिधिलाई बीचमै फिर्ता बोलाउने अधिकारलाई आफ्नो प्रमुख चुनावी एजेन्डा सार्वजनिक गरेका हुन्।
नेपालको चुनावी इतिहासमा पहिलो पटक ‘राइट टु रिकल’लाई स्पष्ट, औपचारिक र सार्वजनिक रूपमा चुनावी मुद्दा बनाएको उम्मेद्वार परियारले बताए ।
उनका अनुसार, एकपटक निर्वाचित भएपछि पाँच वर्षसम्म जनताप्रति जवाफदेही नहुने राजनीतिक प्रवृत्तिको अन्त्य गर्न यो व्यवस्था अनिवार्य छ।
परियारले भने, “काम नगर्ने, भ्रष्ट वा घमण्डी जनप्रतिनिधिलाई जनताले बीचमै हटाउन पाउनुपर्छ। यही लोकतन्त्रको वास्तविक शक्ति हो। यही मुद्दालाई लिएर म देशको राजनीतिमा नयाँ बहस सुरु गर्न उम्मेद्वार बनेको छु ।”
‘राइट टु रिकल’को व्यवस्था लागू भएमा जनप्रतिनिधि सधैं जनताको निगरानीमा रहने र लोकतन्त्र अझै उत्तरदायी तथा पारदर्शी बन्ने उनको विश्वास छ ।
यससंगै परियारले युवा रोजगारको विषयलाई आफ्नो चुनावी एजेण्डा बनाएका छन् । १२ कक्षमा पढ्दै गरेको विद्यार्थी वा १८ बर्ष पुगेको युवाले ६ महिने सीप बिकास तालिम लिइ आफुले चाहेको क्षेत्रमा अनिवार्य १० बर्ष काम गर्नै पर्ने र १० बर्ष पछि स्वतह अवकाश भई ब्यवसाय गर्न सरकारले कम्तीमा ३० लाख रकम उपलब्ध गराउनु पर्ने उनले चुनावी एजेण्डा बनाएका छन् ।