सामाजिक सञ्जालमा ‘हास्य पात्र’ बन्दै ऋषि धमला, जनतासँग काम कि क्यामेरामा स्टन्ट?

दियोपोस्ट संवाददाता  

काठमाण्डौँ । चर्चित पत्रकार ऋषि धमला यतिबेला चुनावी प्रचार-प्रसारमा व्यस्त छन्। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) को तर्फबाट रौतहट निर्वाचन क्षेत्र-४ बाट आगामी निर्वाचन लागि उम्मेदवार बनेका धमलाले आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गरिरहेका छन्।

तर, जनतासंग भेटघाट गरिरहेका उनको फोटो र भिडियो यतिबेला सामाजिक सञ्जालमा ‘मजाक’ र ‘ट्रोल’को विषय बन्दै गएको छ। उनी चुनाव प्रचारका क्रममा जनतासंगै काम गरिरहेको जस्तो देखिन्छन् । तर, उनले त्यो काम फोटो र भिडियोका लागि मात्र गरेको प्रष्ट देखिन्छ ।

उनले रौतहटका स्थानीयहरूसँग कहिले जेरी पकाउछन्, कहिले काठ काट्छन, त कहिले काटेर राखिएको उखु बोकेर जनतालाई सहयोग गरेजस्तो देखिने भिडियो तथा तस्वीरहरू सार्वजनिक गर्छन् । यसैक्रममा उनले साइकल चलाएको र सो क्षेत्रका स्थानीयंग अंकमाल गरेको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ।

सामाजिक संजालमा उनले ट्याक्टर चलाएको भिडियो पनि ट्रोल बनेको थियो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्ता गतिविधिलाई लिएर धमलाको आलोचना गर्दै आएका छन्। धेरैले उनको गतिविधि वास्तविक कामका लागि भन्दा फोटो खिच्न र भिडियो बनाउन केन्द्रित भएको टिप्पणी गरेका छन्। कतिपयले यस्ता दृश्यलाई चुनावी प्रचारका लागि बनाइएको ‘स्टन्ट’ को संज्ञा दिएका छन्।

धमलाको यी क्रियाकलापलाई लिएर फेसबुक, टिकटक र अन्य प्लेटफर्ममा विभिन्न व्यंग्यात्मक टिप्पणी भइरहेको छ । यस कारण उनी सामाजिक सञ्जालमा हास्य पात्रको रूपमा प्रस्तुत हुन थालेका छन्।

यद्यपि, धमलाले भने आफू जनतासँग नजिक हुन र उनीहरूको समस्या बुझ्न गाउँ-गाउँ पुगेको दाबी गर्दै आएका छन्। उनले रौतहट-४ का जनताको सेवाका लागि उम्मेदवारी दिएको र चुनाव जितेपछि विकास र परिवर्तनका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।

पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका धमलाको उम्मेदवारीले रौतहट-४ को चुनावी माहोललाई चर्चित बनाएको छ। तर सामाजिक सञ्जालमा देखिएको आलोचना र ट्रोलिङले उनको चुनावी यात्रामा कस्तो प्रभाव पार्ने हो, त्यो भने आगामी निर्वाचन परिणामले नै देखाउनेछ।

धमलाकी पत्नी एलिजा गौतम आम जनता पार्टीकी उपाध्यक्ष हुन्। पार्टीले उनलाई समानुपातिकतर्फको उम्मेदवार सूचीमा पहिलो नम्बरमा राखेको छ। श्रीमान-श्रीमती दुवै एकै पार्टीबाट निर्वाचन प्रक्रियामा सहभागी भएपछि यसले पनि चर्चा पाएको छ।